काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँ आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजाआराधना र रातभर जाग्राम बसेर विधिवत् रूपमा समापन गरिँदैछ ।
आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिनदेखि सुरु भएको बडादशैँ आश्विन शुक्ल पूर्णिमाका दिन कोजाग्रत पूर्णिमासँगै समापन हुने परम्परा छ । यस दिन धनधान्य र ऐश्वर्यकी देवी महालक्ष्मीको विशेष पूजा गरी रातभर जाग्राम बस्ने धार्मिक प्रचलन रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाको रात जाग्राम बसी महालक्ष्मीको आराधना गर्नाले धनधान्य र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ । ‘को जाग्रत’ अर्थात् ‘को जागेको छ ?’ भन्ने अर्थ बोकेको यस पर्वमा रातभर जागा रहेर देवीको पूजा गर्ने परम्परा रहिआएको छ ।
घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको कलश, जमरा तथा देवीको प्रतिमालाई आज विधिपूर्वक विसर्जन गरिन्छ । यससँगै मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने क्रम पनि औपचारिक रूपमा समाप्त हुन्छ ।
कोजाग्रत पूर्णिमाका अवसरमा कतिपय समुदायमा साँझ कौडा तथा पासा खेल्ने प्रचलनसमेत छ । यस दिनदेखि कात्तिक स्नान र आकाशदीप दान गर्ने धार्मिक परम्पराको पनि सुरुवात हुन्छ ।
घरको आँगन वा देवालयमा बाँसको अग्लो लिङ्गो ठड्याएर त्यसमा दीप प्रज्वलन गर्ने चलन छ । यस्तो आकाशदीप पितृहरूलाई मार्गदर्शन गर्न तथा दिवङ्गत आत्माको शान्तिको कामनासहित बाल्ने धार्मिक विश्वास रहेको छ ।
विजयादशमीपछि पनि कोजाग्रत पूर्णिमासम्म दशैँको टीका र जमरा ग्रहण गर्ने परम्परा रहेकाले यस दिनलाई दशैँको समापनका रूपमा लिइन्छ । कोजाग्रत पूर्णिमासँगै दशैँको उत्सव सकिएपछि नेपाली समाज अब दोस्रो ठूलो चाड तिहारको तयारीमा जुट्नेछ ।
तिहार नजिकिएसँगै बजारमा किनमेल तथा चाडपर्वको तयारीको चहलपहल बढ्न थालेको छ । दशैँको उल्लासलाई बिदाइ गर्दै नेपालीहरू अब तिहारको प्रतीक्षामा रहेका छन् ।


प्रतिक्रिया