बसको ठक्करबाट स्कुटरमा सवार मायाको मृत्यु

बसको ठक्करबाट स्कुटरमा सवार मायाको मृत्यु


ग्लोब नेपाल
0
Shares

बुटवल । पाल्पाको सिद्धबाबा क्षेत्रमा भएको सवारी दुर्घटनामा गुल्मीकी एक महिलाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएकी छन् । मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसिथोककी ३७ वर्षीया माया कुँवर रहेकी छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ स्थित माथिल्लो सिद्धबाबा मन्दिरनजिक सोमबार साँझ बसले स्कुटरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । प्रहरीका अनुसार साँझ सवा ५ बजे पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको लु १ ख ९२७६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो ।

दुर्घटनापछि प्रहरी चौकी दोभानबाट खटिएको टोलीले मायालाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

दुर्घटनामा स्कुटर चालक गुल्मीको धुर्कोट–४ कै ३६ वर्षीया केशरी कुँवर घाइते भएकी छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। स्कुटरलाई ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ