सामाजिक न्याय र समानताको यात्रामा नेपाल संवत्को प्रेरणा महत्त्वपूर्ण : राष्ट्रपति

सामाजिक न्याय र समानताको यात्रामा नेपाल संवत्को प्रेरणा महत्त्वपूर्ण : राष्ट्रपति


ग्लोब नेपाल
108
Shares

काठमाडौं । जनतालाई ऋणको भारबाट मुक्त गराएर नयाँ युगको सुरुवात गर्ने शङ्खधर साख्वाको योगदानले अहिले पनि सामाजिक समानता र लोककल्याणको बाटोमा अघि बढ्न प्रेरित गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।

नेपाल संवत् ११४७ प्रारम्भ भएको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले नेपाल संवत्लाई मुलुकको ऐतिहासिक विरासत, सांस्कृतिक मौलिकता र राष्ट्रिय पहिचानसँग जोडिएको विशिष्ट सम्पदाका रूपमा व्याख्या गरेका हुन् ।

राष्ट्रपति पौडेलले लिच्छवी राजा राघवदेवको शासनकालमा काठमाडौं उपत्यकाका किसान तथा गरिब नागरिकलाई ऋणमुक्त गराउने शङ्खधर साख्वाको अभियानलाई सामाजिक न्याय र जनकल्याणको ऐतिहासिक उदाहरणका रूपमा स्मरण गरेका छन् ।

उनका अनुसार नेपाल संवत्को सुरुवातसँग जोडिएको यो ऐतिहासिक घटनाले समाजमा समानता, परोपकार र जनताको आर्थिक स्वतन्त्रताको महत्त्व उजागर गर्छ ।

नेपाली समाजको सभ्यता, सहिष्णुता र सामूहिक एकतालाई यस्ता मौलिक परम्पराले निरन्तर बलियो बनाउँदै आएको राष्ट्रपति पौडेलको भनाइ छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा नयाँ वर्षका रूपमा मनाइने नेपाल संवत्ले नेपालको इतिहास, संस्कृति र स्वतन्त्रताको पहिचानलाई जीवन्त राखेको उनले उल्लेख गरेका छन् ।

उनले सामाजिक समानता, सुशासन र समृद्धिको लक्ष्य प्राप्तिका लागि निःस्वार्थ भावले प्रतिबद्ध भएर काम गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल संवत्को ऐतिहासिक सन्देशले यस्ता कार्यमा सबैलाई प्रेरणा दिने उनको विश्वास छ ।

राष्ट्रपति पौडेलले नयाँ संवत्ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको सम्बन्ध विस्तार गर्दै राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुर्‍याओस् भन्ने कामनासमेत गरेका छन् ।