जनकपुरधाम । दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्ररुपमा अघि बढिरहेको छ ।
त्यस क्रममा प्रदेश राजधानीस्थित जनकपुरधामका पोखरी तथा तलाउको सरसफाइ र शृङ्गारिने काम सुरु भएको छ । त्यस्तै बजारमा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड बढेको छ ।
मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा मनाउने तयारीस्वरूप विभिन्न पोखरी तथा जलाशयको सरसफाइ तथा शृङ्गार थालिएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहले जानकारी दिए ।
उनकाअनुसार यहाँस्थित गङ्गासागर, धनुषसागर, रत्नसागर र दशरथ तलाउलगायतका पोखरी तथा तलाउको सरसफाइ भइरहेको छ । विशेषगरी गङ्गासागर र धनुषसागरलगायतका जलाशयमा छठ मनाउने परम्परा रहेकाले स्थानीयवासीको सहयोगमा सरसफाइ तथा शृङ्गारलाई तीव्रता दिइएकोछ ।
यस वर्ष छठ पर्वको अवलोकनका लागि प्रधानमन्त्री वालेन्द्र शाह समेत जनकपुरधाम आउने तयारी भइरहेकाले गङ्गासागर छठ घाटलाई थप व्यवस्थित र शृङ्गार्ने तयारी भइरहेको उनको भनाइ छ ।
जनकपुरधामस्थित पेठिया बजार, गाउँघरका हाट तथा मेलामा छठ पूजासामाग्रीसहित बाँसबाट निर्मित सामग्री खरिदको चहलपहल विस्तारै बढेको छ । छठ पर्व नजिकिँदै जाँदा छठ पर्वका लागि आवश्यक सामग्रीको किनमेल सुरु भइसकेको स्थानीय सुमित्रादेवी कर्णले बताउँछिन् ।
छठ पर्व नजिकिँदै गर्दा पुस्तौँदेखि बाँसको सामग्री उत्पादन गर्दै आएका डोम समुदाय पनि अहिले त्यस्ता सामाग्री निर्माण गर्न भ्याइनभ्याइ अवस्थामा छन् । ती समुदायका धेरै परिवारले पुख्र्यौली पेसाका रूपमा बाँसका चोयाबाट विभिन्न पूजासामग्री राख्ने छिटी, नाङ्लो र ढाकी निर्माण गर्दै आएका छन् ।
छठ पर्वका अवसरमा परम्परागत सामग्रीको माग बढ्दा स्थानीय कारीगरको उत्पादनले पनि बजार पाउने गरेको छ ।


प्रतिक्रिया