काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको २३औँ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल अगावै प्लेअफमा स्थान पक्का गरेको हो ।
कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि डी’आर्सी शर्टले सर्वाधिक ४६ रन बनाए । उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
दिलीप नाथले अविजित २८ रन बनाए । उनले २७ बलमा ४ चौका प्रहार गरे । निरोशन डिकवेलाले १३ बलमा १६ रन बनाए । शामिम हुसेन पटवारीले ५ बलमा ५, सन्दीप जोराले २ बलमा ४, आसिफ शेखले ६ बलमा १ र रोहित पौडेलले ११ बलमा १ रन जोडे । रुबेन ट्रम्पलम्यान २ रनमा अविजित रहे ।
कर्णालीका मार्क वाटले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । पवन सर्राफले ४ ओभरमा २८ रन दिएर १ तथा हुसेन तलतले १.४ ओभरमा १३ रन दिएर १ विकेट लिए । सोमपाल कामीले १ ओभरमा १०, नन्दन यादवले १ ओभरमा ९, विपिन शर्माले २ ओभरमा १५ र अरिफुल इस्लामले ३ ओभरमा १६ रन खर्चिए पनि विकेट लिन सकेनन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमा अलआउट भएको थियो । कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । उनले १८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । हुसेन तलतले २२ बलमा २ चौका र १ छक्कासहित २४ रन जोडे । पवन सर्राफले २४ बलमा १२, गुलशन झाले १४ बलमा १३ र डेभिड मिलरले ७ बलमा ५ रन बनाए ।
अरिफुल इस्लाम र दीपक डुम्रेले समान ७ बलमा ४ रन बनाए । मार्क वाटले ६ बलमा २ तथा नन्दन यादवले ८ बलमा ३ रन जोडे । दिपेन्द्र रावत ४ बल खेलेर शून्यमा आउट भए । विपिन शर्मा शून्यमा अविजित रहे । कर्णालीले अतिरिक्तबाट १० रन पाएको थियो ।
लुम्बिनीका लागि किशोर महतोले २.२ ओभरमा ६ रन खर्चेर २ विकेट लिए । डी’आर्सी शर्टले ४ ओभरमा १३ रन दिएर २ तथा रोहितकुमार पौडेलले ३ ओभरमा १२ रन दिएर २ विकेट लिए । अभिषेक गौतमले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।
रुबेन ट्रम्पलम्यानले ३ ओभरमा २० रन दिएर १ तथा शेर मल्लले २ ओभरमा १५ रन दिएर १ विकेट लिए । शामिम हुसेन पटवारीले १ ओभरमा १४ रन खर्चिए पनि विकेट लिन सकेनन् ।
यस जितसँगै लुम्बिनीले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । जारी प्रतियोगितामा प्लेअफ पुग्ने लुम्बिनी पहिलो टोली बनेको हो ।


प्रतिक्रिया