काठमान्डुलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा स्थान पक्का गरेको छ ।

सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा काठमान्डुमाथि ७ रनको रोमाञ्चक जित हासिल गरेको हो । सुदूरपश्चिम रोयल्सले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमले पछिल्ला दुई खेलमा लगातार कम स्कोर डिफेन्ड गर्दै शानदार जित हात पारेको हो । लिग चरणमा सबै ७ खेल खेलिसकेको सुदूरपश्चिमले ७ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र शीर्ष दुईमा रहने सम्भावना बलियो बनाएको छ । अब लुम्बिनी लायन्स वा काठमान्डु गोर्खाज मध्ये एक टिम अन्तिम खेलमा पराजित भएमा सुदूरपश्चिम शीर्ष दुईमा रहने पक्का छ ।

उता लगातार चार खेल जितेपछि पहिलो हार बेहोरेको काठमान्डु ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ । काठमान्डुले लिगको अन्तिम खेलमा पोखरा एभेन्जर्सँग आइतबार खेल्नेछ र उक्त खेल जित्दै शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने अवसर अझै कायम छ ।