अमेरिकामा लगातार तेस्रो दिन हवाई सेवा प्रभावित, हजारौं उडान रद्द

अमेरिकामा लगातार तेस्रो दिन हवाई सेवा प्रभावित, हजारौं उडान रद्द


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । अमेरिकामा लगातार तेस्रो दिन पनि हवाई सेवा प्रभावित भएको छ। आइतबार मात्रै देशभर १० हजारभन्दा बढी उडान रद्द तथा ढिलाइ भएका छन्।

उड्डयनसम्बन्धी तथ्याङ्क वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार २ हजार ३०० भन्दा बढी उडान रद्द भएका छन् भने करिब ७ हजार ७०० उडान ढिलाइ भएका छन्। शनिबार पनि ६ हजार ४०० भन्दा बढी उडान रद्द र ८ हजारभन्दा बढी उडान ढिलाइ भएका थिए।

अमेरिकी यातायातमन्त्री सीन डफीले सोमबारसम्म हवाई सेवा सामान्य अवस्थामा फर्किने अपेक्षा व्यक्त गरेका छन्। उनले साइबर आक्रमण वा दुर्भावनापूर्ण गतिविधिका कारण समस्या भएको प्रमाण नरहेको तर अवरोधको वास्तविक कारण अझै स्पष्ट नभएको बताएका छन्।

शुक्रबार अमेरिकी संघीय उड्डयन प्रशासन ९एफएए०ले देशव्यापी ग्राउन्ड स्टप जारी गरेपछि झन्डै पाँच घण्टासम्म अधिकांश उडान रोकिएका थिए। हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्रयोग भएको राउटरमा समस्या आएपछि देशभरका उडान प्रभावित भएको अधिकारीहरूले बताएका छन्।

एफएएले समस्या उत्पन्न गराउने राउटरसहित समान प्रविधिका करिब ६० वटा राउटर निष्क्रिय पारेको छ। पुरानो प्रविधि र उपकरणका कारण अमेरिकी हवाई ट्राफिक नियन्त्रण प्रणालीमा समस्या देखिँदै आएको छ।

यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई ट्राफिक नियन्त्रण प्रणाली आधुनिकीकरणका लागि थप बजेट आवश्यक रहेको बताएका छन्। यातायातमन्त्री डफीले यसअघि प्रस्तावित ३० अर्ब डलरको बजेट बढाएर ५० अर्ब डलर पुर्‍याउनुपर्ने माग गरेका छन्।

अमेरिकामा पुरानो प्रविधि र पूर्वाधार सुधारको विषय उठिरहेका बेला पछिल्लो हवाई अवरोधले देशको उड्डयन प्रणालीको आधुनिकीकरण आवश्यकतामाथि पुनः बहस सुरु गराएको छ।