सर्लाही। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा भएको भीषण माइक्रोबस दुर्घटनामा परिवारका सदस्य गुमाएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका तीन बालबालिकाको कक्षा १० सम्मको शिक्षाको जिम्मेवारी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लिने घोषणा गर्नुभएको छ।
सर्लाहीको धनकौल गाउँपालिकामा छठ पर्व मनाउन पुग्नुभएका थापाले पूजाआजा गरेपछि दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यहरूसँग भेटघाट गर्दै उक्त घोषणा गर्नुभएको हो। दुर्घटनाबाट प्रभावित परिवारलाई भेटेर पीडितको अवस्था बुझ्ने क्रममा उहाँले बालबालिकाको भविष्यलाई ध्यानमा राख्दै कक्षा १० सम्मको अध्ययन खर्च बेहोर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
थापाले चक्रघट्टा–४ सुन्दरपुरका अवधेश यादवका १४ महिनाका छोरा सुदीप यादव तथा गुडु यादवका पाँच वर्षीय छोरा सक्षमकुमार यादव र तीन वर्षीय छोरा सुजन यादवको शिक्षाको जिम्मेवारी लिने घोषणा गर्नुभएको बताइएको छ।
अवधेशको श्रीमती, तीन छोरी र दुई भाइको मृत्यु
उक्त दुर्घटनामा अवधेश यादवकी ३५ वर्षीया श्रीमती पुनमदेवी यादव, १० वर्षीया छोरी अनुकुमारी, सात वर्षीया दीक्षा, पाँच वर्षीया दीपिका तथा उहाँका दुई भाइ २६ वर्षीय विकेश यादव र २४ वर्षीय सुवोध यादवको मृत्यु भएको थियो।
मृतकमध्ये विकेश काठमाडौँमा सिभिल इन्जिनियरिङ अध्ययन गर्दै हुनुहुन्थ्यो भने सुवोध फलफूल व्यापारमा संलग्न हुनुहुन्थ्यो। परिवारका १४ महिनाका बालक सुदीप यादव भने दुर्घटनामा घाइते भएका छन्।
एउटै परिवारका छ सदस्य गुमाउँदा अवधेश यादव अहिले असह्य पीडामा हुनुहुन्छ। छठ पर्व मनाउन हर्षोल्लासका साथ घर फर्किएका परिवारका सदस्यहरू कहिल्यै नफर्किने गरी बिदा भएपछि सुन्दरपुर गाउँ नै शोकमा डुबेको छ।
पीडित बालबालिकाको भविष्यप्रति चासो
दुर्घटनामा अभिभावक तथा परिवारका सदस्य गुमाएका बालबालिकाको भविष्य अन्योलमा नपरोस् भन्ने उद्देश्यले कांग्रेस सभापति थापाले उनीहरूको शिक्षाको जिम्मेवारी लिने घोषणा गर्नुभएको हो।
भीमफेदीको उक्त दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरसहित जिल्लाभर शोक छाएको छ। चाडपर्व मनाउन घर फर्किने क्रममा भएको यस दुःखद घटनाले छठ पर्वको खुसीलाई धेरै परिवारका लागि कहिल्यै निको नहुने पीडामा परिणत गरिदिएको छ।


प्रतिक्रिया