काठमाडौं । तीन देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारतका लागि राजदूत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदूत डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेश कर्णले शपथ लिएका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूत पदमा नियुक्त गरेका थिए ।
मन्त्रिपरिषद्ले १३ जना राजदूतको नाम सिफारिस गरेकोमा संसदीय सुनुवाइ समितिले १० जनाको नाम मात्रै अनुमोदन गरेको थियो । समितिबाट नाम अनुमोदन भएपछि सरकारले सम्बन्धित देशमा राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो ।
अग्रिमो प्राप्त भएका तीन जना राजदूतले मात्रै सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।


प्रतिक्रिया