शेख हसिनाको गृहनगरमा अवामी लिगका कार्यकर्ताको हिंसात्मक प्रदर्शन

शेख हसिनाको गृहनगरमा अवामी लिगका कार्यकर्ताको हिंसात्मक प्रदर्शन



बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा आइतबार अवामी लिगका नेता तथा कार्यकर्ताले प्रदर्शनका क्रममा प्रदर्शन गरेका छन । उनीहरूले प्रहरीका अवरोध तोड्दै सहरका विभिन्न सडकमा जुलुस निकालेका थिए ।

प्रदर्शनका क्रममा प्रहरीको सशस्त्र गाडी, प्रहरी चौकी र सार्वजनिक संरचनामा क्षति पुर्‍याइएको छ । बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारीले गोपालगञ्ज सहरमा रहेको जुलाई स्मारक र गोपालगञ्ज विज्ञान तथा प्रविधि विश्वविद्यालय परिसरको हादी चोकको नामपट्टिकासमेत तोडफोड गरेका छन् ।

केही सरकारी संरचनाका नामपट्टिका हटाएर पुराना नाम समेत राखिएको छ । प्रदर्शनकारीले सडकमा टायर बालेर यातायातसमेत अवरुद्ध गरेका थिए । प्रदर्शनमा सहभागी कतिपयले खुकुरी, भाला, बन्चरो, लाठी र डुंगा चलाउन प्रयोग गरिने काठका डाँडाजस्ता स्थानीय हतियार बोकेका थिए ।

उनीहरूले पूर्वप्रधानमन्त्री हसिना र अवामी लिगको समर्थनमा नाराबाजी गरेका थिए । द डेली स्टारका अनुसार आइतबार बिहानैदेखि जिल्लाका विभिन्न क्षेत्रबाट मोटरसाइकल, रिक्सा, बस र ट्रकमा प्रदर्शनकारी गोपालगञ्ज सहर आइपुगेका थिए । उनीहरू दिउँसो १२ बजेतिर बीएसआईसी पुल क्षेत्रबाट जुलुससहित निस्किएका थिए ।

प्रदर्शन दिउँसो करिब १: ४५ बजेसम्म चलेको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीका गाडीमा तोडफोड गरिएको थियो । प्रदर्शनकारीले टायर र अन्य सामग्रीमा आगो लगाएका थिए ।