सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार सामान्य अंक सकारात्मक भएर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

शुक्रबार नेप्से परिसूचक ७.३८ अंक घटेर ०.२८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.३१ अंक घटेको छ भने सेन्सेटिभ इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स दुबै ०.०७ अंक बढेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५२ स्टकको ३९ हजार ९६६ पटकको कारोबारमा ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार रुपैयाँबराबरको १ करोड ६ लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दोल्ती पावर कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ५.१४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन भुगोल इनर्जीको डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ३ प्रतिशभन्दा कम रहेको छ। कारोबारमा आएको मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाईमूल्य यस दिन सर्वाधिक ८.५० प्रतिशत घटेको छ। त्यसैगरी, पाल्पा सिमेन्ट इन्डष्ट्रीजको शेयरमूल्य साढे ६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २० करोड २२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको करिब १५ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम ११ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.३९ प्रतिशत घटेको छ।