प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच ३ घण्टा लामो भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच ३ घण्टा लामो भेटवार्ता


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच तीन घण्टा लामो छलफल भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार दिउँसो दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री शाहको भारत भ्रमणको पूर्वसन्ध्यामा दिउँसो २ बजेदेखि ५ बजेसम्म उनीहरूबीच छलफल भएको हो ।

प्रधानमन्त्री बालेन ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंसिर ६ गते भारतको राजकीय भ्रमणमा जाँदैछन् । उनी आइतबार मध्याह्न १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली प्रस्थान गर्नेछन् ।

भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलगायत उच्चपदस्थ अधिकारी सहभागी हुनेछन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।