नेपाली फुटबलमाथिको फिफा निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो

नेपाली फुटबलमाथिको फिफा निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो


ग्लोब नेपाल
27
Shares

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् ।

थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको जानकारी दिएका हुन् ।

मन्त्री पोखरेलका अनुसार निलम्बन फुकुवासँगै फिफा र एएफसी एन्फाको तहगत निर्वाचन गराउन सहमत भएका छन् । निर्वाचन कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा फिफाले डिसेम्बरमा प्रस्तावसहितको रोडम्याप पठाउनेछ ।

‘अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ । तहगत निर्वाचनको हकमा पनि डिसेम्बरसम्ममा रोडम्यापको प्रस्ताव लिएर आउने भन्नुभएको छ,’ उनले पत्रकार सम्मेलनमा भने ।

एन्फाको निर्वाचन पुरानै नेतृत्वबाट गर्ने वा अन्तरिम कमिटी बनाएर गर्ने भन्ने विषय भने टुंगिन बाँकी रहेको पनि उनले बताए ।

‘तहगत निर्वाचन गर्ने भन्नेमा सहमति भएको हो । कुन मोडालिटीमा गर्ने, कस्तो गर्ने र कहिले गर्ने भन्ने विषयमा टुंगिन बाँकी छ,’ मन्त्री पोखरेलले थप भने ।

उनका अनुसार फिफाले नेपाली फुटबलमा सरकारको भूमिकालाई ‘थर्ड पार्टी इन्टरफेरेन्स’ का रूपमा बुझेको थियो । तर, सरकारले नेपालको आफ्नै कानुन र राज्यको अधिकारबारे स्पष्ट पारेपछि फिफा सकारात्मक बनेको उनले बताए ।

‘राज्यले गर्ने काम आफैं गर्छ । देशको कानुनअनुसार काम हुन्छ । त्योभन्दा बाहेक हामीले केही हस्तक्षेप गर्दैनौं भनेर उनीहरूलाई जानकारी गरायौं । त्यसमा उनीहरू सकारात्मक हुनुभयो,’ उनले भने ।

सरकारले नेपाली फुटबलप्रति देखाएको चासोलाई पनि फिफाले सकारात्मक रूपमा लिएको उनको भनाइ छ ।

एएफसी अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका मन्त्री पोखरेलले फिफा अध्यक्ष इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए ।