काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले पूर्वसभापति शेरबहादुर देउवा समूहलाई पार्टी एकताको प्रक्रियामा सहभागी हुन आग्रह गर्दै शीर्ष नेताहरूको सम्मानजनक व्यवस्थापनका लागि तयार रहेको जनाएको छ ।
निर्वाचन आयोगले १५ औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिक गरेपछि संस्थापन पक्षका नेताहरूले असन्तुष्ट समूहलाई पार्टीभित्रै रहेर मतभेद समाधान गर्न आग्रह गरेका हुन् । देउवा समूह भने मङ्सिर २१ गतेदेखि समानान्तर महाधिवेशन गर्ने तयारीमा छ ।
काँग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टी एकताका लागि पूर्वसभापति देउवालगायत शीर्ष नेताहरूलाई उपयुक्त जिम्मेवारी दिन सकिने भए पनि वर्तमान नेतृत्व परिवर्तन गर्न नसकिने स्पष्ट पारेका छन् ।
आज धादिङ पुगेका महामन्त्री पौडेलले भने, ‘एकताका लागि गगन थापालाई हटाएर शेरबहादुर देउवालाई सभापति बनाउन सकिँदैन। त्यो बाहेक के उपाय छ ? त्यो लागु गर्न तयार छौँ। शेरबहादुर दाइलाई सम्मान पुग्ने अभिभावकीय पद दिन तयार छौँ।’
अन्य शीर्ष नेताहरूलाई पनि सभापतिभन्दा तल र आफूहरूभन्दा माथिको हैसियतमा व्यवस्थापन गर्न तयार रहेको उनले बताए ।
‘कुनै नेतालाई सभापति हुने इच्छा थियो भने आएर प्रतिस्पर्धा गर्नुभएको भए हुन्थ्यो। वैधानिक प्रश्न उठाएर मात्रै बाहिर बस्नुभन्दा त्यो वैधानिक प्रश्न भित्रै आएर उठाएको भए हुन्थ्यो नि !’ पौडेलले भने ।
पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पाँच पटक आफ्नो पक्षमा निर्णय गरिसकेको उनको भनाइ छ ।
‘विधिको शासनभित्र एउटै पार्टीको दुइटा सभापति हुन सक्छ ? एउटै पार्टीको दुइटा जिल्ला समिति हुन सक्छ ? एउटै मतलब दुइटा पार्टीले एउटा झन्डा बोकेर हिँड्न सक्छ ? यो विधिको शासनभित्र पर्छ ? त्यसैले अदालतले नेपाली काँग्रेसको बारेमा पाँचचोटि फैसला गरिसकेको छ’ उनले भने।
अदालतले छैटौँ पटक फरक निर्णय गरे पनि त्यसलाई स्वीकार गर्ने बताउँदै पौडेलले सरकार नै काँग्रेसलाई दुई वटा पार्टी बनाउन लागिपरेको आरोप लगाए ।
काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पनि विगतका असहमति र कमजोरीको समीक्षा पार्टीभित्रै गरेर एकताबद्ध हुन आग्रह गरेका छन् ।
‘प्रतिक्रियापछि प्रतिक्रिया र फेरि पनि प्रतिक्रिया मात्रैले कहीँ पुगिन्न मूल प्रश्न विधि, विधान, पद्धति, प्रवृत्ति, प्रक्रिया, परिस्थिति, मनस्थिति र समयको हो अतः सबैमा नम्र आग्रह छ, आउनोस् , अब कोही नअल्मलिउँ, सबै जुटौँ मूल बाटोमा !’ शर्माले भनेका छन् ।
पार्टीको आन्तरिक मतभेद समाधान गर्दै मुलुकका समस्यामा केन्द्रित हुनुपर्ने उनको धारणा छ ।
उनले भनेका छन्, ‘हामी जसको जे कमजोरी भयो, त्यसको गम्भीर समीक्षा घरभित्रै गरौँ मन माझौँ घर भित्रै, मन जोडौँ-घर भित्रै आखिर हामी सबै जान्दछौँ प्रश्न यहाँ काँग्रेसको होइन, प्रश्न देशको छ।’
महामन्त्री डा. डिला संग्रौलाले निर्वाचन आयोगबाट १५ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमिति र संशोधित विधान अद्यावधिक भएसँगै पार्टीले पूर्ण वैधानिकता प्राप्त गरेको बताएकी छन् ।
उनले भनिन्, ‘विगतका सबै तिक्तता र मतभेदहरूलाई बिर्सेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन तथा सङ्गठन सुदृढीकरणको अभियानमा एकजुट भई अघि बढ्न बाहिर रहनुभएका सम्पूर्ण साथीहरूमा हार्दिक आह्वान गर्दछु।’


प्रतिक्रिया