ईनम सापकोटासहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

ईनम सापकोटासहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । सम्पत्ति शुद्धीकरण तथा राष्ट्र बैङ्क ऐनअन्तर्गतको कसुरमा पक्राउ परेका ईनम सापकोटासहित तीन जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

बिहीबार काठमाडौँ जिल्ला अदालतले सापकोटासहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन काठमाडौँ प्रहरीलाई अनुमति दिएको हो । अदालतका एक अधिकृतका अनुसार अनुसन्धान नसकिएकाले तीनै जनाको म्याद थप गरिएको हो ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको ‘कनेक्सन’ देखिएपछि प्रहरीले सबैभन्दा पहिले ईनम सापकोटालाई पक्राउ गरेको थियो । उनीमाथि नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ ।

सापकोटासँगको संलग्नता देखिएपछि पक्राउ परेका कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल महेश श्रेष्ठ र लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील भट्टविरुद्ध भने प्रहरीले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ ।