कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान

कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान



काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय पुर्णबहादुर खड्का र डाक्टर शशांक कोइरालालाई विवाद समाधान समितिले प्रतिवेदन बुझाएको हो । सभापति शेरबहादुर देउवालाई दिउँसो १२ बजे प्रतिवेदन बुझाएको देउवाको सचिवालयले जानकारी दिएको छ ।

क्रियाशील सदस्यता विवाद रहेका प्रदेश नम्बर दुईका सबै जिल्लासहितका १३ वटा जिल्लाको विवाद समाधानबारे नीतिगत निर्णय गरेर सभापति र महामन्त्रीहरुलाई प्रतिवेदन बुझाएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

क्रियाशील सदस्यता विवाद समाधान गर्न कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समिति गठन गरेको थियो । सिटौला नेतृत्वको समितिमा केन्द्रीय सदस्यहरु रमेश लेखक र डाक्टर मिनेन्द्र रिजाल सदस्य रहेका थिए । उनीहरुलाई केन्द्रीय सदस्यहरु प्रदीप पौडेल र अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले सहयोग गरेका थिए ।

विवाद समाधान समितिले प्रतिवेदन बुझाएको महामन्त्री डाक्टर शशांक कोइरालाको सचिवालयले समेत पुष्टि गरेको छ । कोइरालाका स्वकीय सचिव भरत निवारीले विवाद समाधान समितिले प्रतिवेदन बुझाएको बताए । उनका अनुसार अब सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेर क्रियाशील सदस्यताको विवरण कांग्रेसको वेवसाइटमा आज बेलुकासम्म सार्वजनिक हुनेछ ।