काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर हुनु नियमित प्रक्रिया भएको बताएका छन्।
नेकपा एसको आजको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयाँ मन्त्री सरकारमा पठाउने निर्णय गरेको थियो । निर्णयबारे पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्री बनाउने बेलामै ६ महिनाका लागि भन्ने तय गरिएको बताए ।
‘यो नियमित प्रक्रिया हो। पहिले पनि हामीले छ महिना भनेका थियौं,’ अध्यक्ष नेपालले पार्टी कार्यालयमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै भने, ‘सुरूदेखि नै ६ महिनाका लागि भनिएको हो। यो नियमित प्रतिक्रिया हो।’ हटाइएका मन्त्रीहरूको असन्तुष्टीबारे भने नेपालले कुनै प्रतिक्रिया दिन चाहेनन् ।
एकीकृत समाजवादीले जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागि नाम सिफारिस गरेको छ।
त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा सिफारिस भएका छन् ।


प्रतिक्रिया