चालु खाता ५ खर्ब ४५ अर्बभन्दा बढी घाटामा, मूल्यवृद्धि ८ प्रतिशत पुग्यो !

चालु खाता ५ खर्ब ४५ अर्बभन्दा बढी घाटामा, मूल्यवृद्धि ८ प्रतिशत पुग्यो !


ग्लोब नेपाल
513
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत साउनयता देशको वर्तमान आर्थिक अवस्था तथा वित्तीय स्थितिमार्फ राष्ट्र बैंकले सो तथ्यांक सार्वजनिक गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १४ करोडले घाटामा रहेको चालु खाता चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४ अर्ब ५७ करोडले घाटामा रहेको छ । 

वैशाख मसान्तसम्म पुँजीगत ट्रान्सफर ४१.३ प्रतिशतले कमी आई ७ अर्ब ९९ करोड कायम भएको छ । सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १८.२ प्रतिशतले वृद्धि भई १६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ८ करोड रहेको थियो । 

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको थियो । 

मूल्यवृद्धि ८ प्रतिशत पुग्यो

पछिल्लो समय देशको आर्थिक अवस्था अझ कमजोर हुँदै गएको छ । नेपालको शोधनान्तर घाटा र मूल्य वृद्धि बढ्दै गएको छ । यसले नेपालको आर्थिक अवस्था झन् कमजोर हुँदै गएको देखाएको छ । नेपाल राष्ट्र बैंकद्वारा आज प्रकाशित तथ्यांकले यस्तो देखाएको हो ।

मूल्यवृद्धि ७.८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा हाल मुद्रास्फीति ३.६५ प्रतिशत थियो । २०७८ वैशाख महिनाको तुलनामा २०७९ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २४.८६ प्रतिशत, १२.६१ प्रतिशत, ११.३० प्रतिशत, १०.५३ प्रतिशत र ९.७० प्रतिशत रहेको छ । साथै, गैर–खाद्य तथा  सेवा समूह अन्तर्गत यातायात, शिक्षा र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः २१.८१ प्रतिशत, ११.६४ प्रतिशत र ८.२१ प्रतिशत रहेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकको प्रतिवेदन पूर्णपाठ: