काठमाडौं । मंगलबार ३७ अंकले बढेको नेप्सेमा दोस्रो दिन पुनः ३१ अंकको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ३१.२१ अंकले घटेर १८९३.५३ अंकमा झरेको हो । ३१ अंकभन्दा बढीले घटेको बजारमा आज कारोबार रकमसमेत ८४ करोड ३७ लाखमा खुम्चिन पुगेको छ । १३ वटै उपसूचक ऋणात्मक भएर आज पनि बजार राताम्मे भएको छ ।
आज डेभलपमेन्ट बैंक समूह २.७५ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूह २.४९ प्रतिशतले, फाइनान्स समूह २.६६ प्रतिशतले, निर्जीवन बीमा समूह १.९९ प्रतिशतले, जीवन बीमा समूह १.४५ प्रतिशतले, बैंकिङ समूह १.२१ प्रतिशतले घटेको छ ।
यस्तै, माइक्रोफाइनान्स समूह १.११ प्रतिशतले घटेकोमा म्यानु एन्ड प्रो समूह १.२३ प्रतिशतले, ट्रेडिङ समूह १.१ प्रतिशत, होटल तथा पर्यटन समूह १.०१ प्रतिशतले, म्युचुअल फन्ड ०.८५ प्रतिशतले घटेको छ । अन्य समूह भने आज २.६६ प्रतिशतले घटेको छ।
आज सबैभन्दा बढी ग्लोबल आईएमई समुन्नत सेमी–१ ले र आँधीखोला लघुवित्त वित्तीय संस्थाले समान १० प्रतिशतले कमाएका छन् भने युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावरका सेयरधनीहरुले ६.४८ प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया