लमजुङ । अविरल वर्षाले आएको पहिराले गएरातिदेखि डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिरा र मर्स्याङ्गदी गाउँपालिका–४ रामबजार पहिराले बेँसीसहर चामे सडक अवरुद्ध भएको हो ।
वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनका अनुसार पहिराले अवरुद्ध बनाएको सडक एक्साभेटरको माध्यमबाट खुलाउने कार्य भइरहेको छ ।
यही भदौ ११ गते र गत असारको पहिलो हप्ता आएको बाढीले सो सडकको देउरालीडाँडामा सडक बगाएको थियो । सडक अवरुद्धका कारण बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुहरु बढी मारमा परेका छन् । यस सडक ४२ किलोमिटर दूरीको छ ।
त्यस्तै, लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडकअन्तर्गत उक्त रामबजारमा पहिराले अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन सकेको छैन । सडक माथिबाट ठूला ढुङ्गामाटा सहितको पहिरा खसेर सडक अवरुद्ध भइरहेको प्रहरीले जनाएको छ ।
यस सडक हुँदै विशेष गरी मनाङवासीहरु आवतजावत हुने गर्दछन् । तर उनीहरुलाई यसरी पटक पटक सडक अवरुद्ध हुँदा समस्या हुँदै आएको छ । यस सडक ६५ किलोमिटरको दूरीमा रहेको छ ।
प्रतिक्रिया