भूतपूर्व गोर्खाको समर्थन गर्दै लन्डनमा विशाल प्रदर्शन

भूतपूर्व गोर्खाको समर्थन गर्दै लन्डनमा विशाल प्रदर्शन



लन्डन । लन्डनमा भुतपूर्व गोर्खाको समर्थन गर्दै विशाल प्रदर्शन भएको छ । शनिबार र आइतबार आमरणस्थल प्रधानमन्त्रीको कार्यालय आसपासमा ब्रिटिस भेट्रान्सहरुलगायतले गोर्खा आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विशाल प्रदर्शन गरेका हुन् ।

भुतपूर्व गोर्खाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेको १० दिनसम्म पनि बेलायत सरकारले कुनै पहल गरेको छैन । तर आमरण अनसनप्रति ब्रिटिस भेट्रान तथा आम नागरिक सबै एकजुट भएका छन् ।

ब्रिटिस अभिनेत्री तथा अभियानकर्ता जोआना लुम्लेले समेत भूपू गोर्खाको आमरण अनसनसम्बन्धी मुद्दाको बारेमा आवाज उठाएकी छन् । भोक हडतालमा बसेका अनसनकारीहरूलाई भेटेर उनीहरूको मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन् । यसै गरी भूतपूर्व गोर्खा एवम् सफल आरोही निर्मल पुर्जा मगर ‘निम्स’ ले पनि एक भिडियो सन्देशमार्फत आफ्नो धारणा व्यक्त गरेका छन ।

गत जुलाई २१ तारिखबाट १७ दिन २४ घन्टे रिले अनसन पूरा गरि गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियन्ता पुष्प राना घले विगत १० दिनदेखि आमरण अनसनमा छन् ।