एमाले-जसपा ‘तालमेल’ सहमति नजिक, ३ सिटमा कुरा मिल्न बाँकी !

एमाले-जसपा ‘तालमेल’ सहमति नजिक, ३ सिटमा कुरा मिल्न बाँकी !


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेलका लागि भएको वार्ता सकारात्मक भएको नेताहरुले दाबी गरेका छन् ।

नेताहरुले दिएको जानकारीअनुसार आज पुनः शीर्ष नेताहरुबीच छलफलपछि सहमति पत्रमा हस्ताक्षर हुनेछ । जसपा नेताहरुका अनुसार एमालेसँग गठबन्धन गर्दा आफूहरुले प्रतिनिधिसभाका २४ सिट पाउने सम्भावना छ । मधेस प्रदेशको १६ र अरु प्रदेशमा ८ सिट छ । एमाले नेताहरु भने २२ सिटसम्म दिन तयार देखिएका छन् ।

‘जसपाले संघमा २५ सिट मागेको छ, सोही अनुपातमा प्रदेशमा पनि उसको माग छ । कुराकानीका क्रममा एमाले २० देखि २२ सिट संघमा र प्रदेशमा पनि सोही अनुसार दिन तयार भएको छ’, एमालेका एक नेताले भने, ‘२० देखि २२ सिटमा कुरा मिल्ने सम्भावना छ ।’

एमाले र जसपाका नेताहरुका अनुसार केही सिटमा सहमति हुन सकेको छैन् । सहमति हुन नसकेको क्षेत्रमा बारा २, धनुषा २ र बाके २ रहेका छन् । यी तीनवटै सिटमा दुवै दलको दावि रहेको छ । बारा २ मा एमालेले माओवादी छाडेर आएकी ज्वाला साहलाई टिकट दिन चाहेको छ । तर त्यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्ना विश्वासपात्र रामसहाय यादव चुनाव लडाउन चाहन्छन् ।

यस्तै, धनुषा २ मा एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर आएका उमाशंकर अरगरियालाई टिकट दिने बचन दिइसकेको छ । तर जसपाले पनि यो क्षेत्रमा दाबी गरेको छ ।

दुई दलबीच सहमति हुन नसकेको अर्को क्षेत्र हो, बाँके २ । एमालेले यहाँ राप्रपाका महामन्त्री धवलशमशेर राणालाई सघाउने बचन दिइसकेको छ । तर जसपाका मो। ईस्तियाक राई निवर्तमान सांसद र बहालवाला मन्त्री छन् ।