काठमाडौं । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारीको मनोनयन पत्र दर्ताको कार्यक्रम रहेको छ ।
निर्वाचन आयोगले पनि आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको योग्यता र अयोग्य हुने आधारहरु प्रकाशित गरेको छ। आयोगले एक विज्ञप्ति जारी गर्दै विभिन्न ५ बुँदामा योग्यता र १० बुँदामा अयोग्य हुने आधार प्रकाशित गरेको हो।
निर्वाचनका लागि २३ असोजमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदैछ। राजनीतिक दलहरु सिट बाँडफाँट तथा टिकट बाँडफाँटको तिव्र तयारीमा लागेका छन्।
योग्यता–
-नेपालको नागरिक,
-प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको,
-पच्चीस वर्ष उमेर पूरा भएको,
-कुनै सङ्घीय कानूनले अयोग्य नभएको र
-कुनै लाभको पदमा बहाल नरहेको।
अयोग्य हुने आधार:
-नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको,
-निर्वाचनसम्बन्धी प्रचलित कानूनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको,
-भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागु औषध विक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,
-सङ्गठित अपराधसम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,
-जातीय भेदभाव तथा छुवाछुत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको,
-यसबाहेक अन्य कसूरमा पांच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,
-प्रचलित कानूनबमोजिम कालो सूचीमा रहेका,
-कैदमा बसेकोमा कैद बसेको अवधिभर,
-नेपालको संविधानको धारा २९१ विपरीत विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको,
-मानसिक सन्तुलन ठीक नभएको।
प्रतिक्रिया