काठमाडौ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच चुनावी तालमेलको खाका शनिबार तय हुने भएको छ ।
शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट भक्तपुरमा दुवै पार्टीका शीर्ष नेताबीच करिब तीन घण्टा भएको छलफलमा तालमेललाई करिब-करिब अन्तिम रुप दिइएको स्रोतले जनाएको छ । स्रोतका अनुसार दुवै पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तालमेलको खाका तयार पारिसकेका छन् ।
एमालेसँग तालमेलबारे ८० प्रतिशत सहमति भइसकेको र बाँकी २० प्रतिशतमा शनिबार सहमति जुट्ने बैठकमा सहभागि राप्रपाका नेता बुद्धिमान तामाङले जानकारी दिए । राप्रपाले निश्चित निर्वाचन क्षेत्रमा मात्र एमालेसँग तालमेल गर्न लागेको हो । ती बाहेकका निर्वाचन क्षेत्रमा भने एमालेसँगै पनि मित्रवत प्रतिस्पर्धा हुने राप्रपा नेता तामाङले बताए ।
‘एमालेसँग सबै क्षेत्रमा तालमेल हुने होइन,’ उनले भने, ‘केही निश्चित सिटमा तालमेल गर्ने हो, हाम्रो सहयोगमा एमालेले जित्नसक्ने र एमालेको सहयोगमा हामीले जित्नसक्ने केही सिटमा हाम्रो तालमेल रहन्छ, अन्यत्र हामी मित्रवत् प्रतिस्पर्धामा जान्छौं ।’
एमाले स्रोतले पनि राप्रपासँग तालमेलबारे करिबकरिब सहमति भइसकेको दावि गरेको छ । अन्तिम निर्णय भने शनिबार हुने बताइएको छ ।
प्रतिक्रिया