काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा उम्मेदवार टुंगो लगाएको छ ।
एमालेले ओखलढुंगाको प्रतिनिधि सभातर्फ निवर्तमान सांसद यज्ञराज सुनुवारलाई उम्मेदवार बनाएको छ । गत भदौमा बसेको निर्वाचन क्षेत्र र जिल्ला कमिटी बैठकले प्रतिनिधि सभातर्फ उम्मेदवारका लागि सुनुवारसहित अम्बिरबाबु गुरुङ र किशोर अधिकारीको नाम सिफारिस गरेको थियो । अन्तिममा आएर सुनुवारले नै टिकट पाएका हुन् ।
सुनुवारले यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका रामहरि खतिवडालाई पराजित गरेका थिए ।
यस्तै, एमालेले ओखलढुंगाका प्रदेश सभाका दुई वटा क्षेत्रमा पनि उम्मेदवार टुंगो लगाएको छ । प्रदेशसभा (क) मा अमिरबहादुर गुरुङ र प्रदेश सभा (ख) ज्ञानबहादुर खड्कालाई एमालेले उम्मेदवार बनाएको छ । गुरुङ निवर्तमान प्रदेश १ का प्रदेश सांसद समेत हुन् । नेकपा एमालेका नेता शेरधन राई प्रदेश १ को मुख्यमन्त्री हुँदा गुरुङ प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीसमेत भइसकेका हुन् ।
प्रदेश सभा (ख) का लागि खड्कासहित नानिबाबु बुढाथोकी पनि उम्मेदवार सिफारिस भएका थिए । तर, अन्तिममा खड्का उम्मेदवार बनेका हुन् ।
प्रतिक्रिया