एमाले नेता खिमलाल भट्टराईको हातमा न सांसद पद, न टिकट !

एमाले नेता खिमलाल भट्टराईको हातमा न सांसद पद, न टिकट !

राष्ट्रिय सभामा घट्यो एमालेको सीट


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । नेकपा एमालेको नेतृत्वको कमजोरीका कारण राष्ट्रिय सभाका सांसद समेत रहेका केन्द्रीय सदस्य खिमलाल भट्टराईको सांसद पद गुमेको छ ।

राष्ट्रिय सभामा एमालेका सचेतकसमेत रहेका भट्टराईको सांसद पद त गयो नै तर, उनले रुपन्देही ५ मा उम्मेदवारी दिए पनि अन्ततः एमालेको आधिकारीक उम्मेदवार बन्न सकेनन् । रुपन्देहीको क्षेत्र नं.५ मा अन्ततः निर्वाचन आयोगले नेकपा एमालेबाट वासुदेव घिमिरेको उम्मेदवारी कायम भएको जानकारी दिएपछि भट्टराई अलपत्र परेका छन् ।

उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट चुनाव लड्नका लागि शनिवार अपराह्न एमालेले लुम्बिनी प्रदेश सदस्य तथा तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख वासुदेव घिमिरेलाई टिकट दिएकोमा आइतबार दिउसो उनको टिकट खोसेर भट्टराईलाई दिएको थियो ।

शनिवार पार्टीको आधिकारिक पत्र बुझेका घिमिरेले आइतबार अपराह्न साढे ३ बजे मनोनयन दर्ता गरेपछि अपराह्न पौने ५ बजे एमाले पोलिटब्युरो सदस्य समेत रहेका खिमलाल भट्टराईले अर्को पत्र पेश गर्दै आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। तर, सोमबार आयोगले घिमिरेको उम्मेदवारी दर्ता पहिले भएको भन्दै आयोगले उनैलाई मान्यता दिएपछि भट्टराई अलपत्र परेका हुन् । उनले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

रुपन्देही–५ बाट सर्वसम्मत सिफारिस भएका भट्टराईले एमाले अध्यक्ष केपी ओलीकै निर्देशनमा राष्ट्रियसभा सदस्यको राजीनामा दिएको बताएका छन् । भट्टराईले भने, ‘क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले सर्वसम्मत रुपमा मलाई सिफारिस गरेको थियो । पार्टी अध्यक्षले (केपी ओली) पनि राष्ट्रियसभाबाट राजीनामा गर्नू भन्नुभयो, मैले राजीनामा गरेर उम्मेदवारी दिएँ ।’

भट्टराई २०७४ सालमा राष्ट्रियसभा सदस्यमा चुनिएका उनको कार्यकाल ६ वर्षको थियो । तर एमालेको नेतृत्वको कमजोरीका कारण रुपन्देही–५ मा एमालेकै दुई वटा उम्मेदवारी परेपछि भट्टराईले राष्ट्रिय सभा सदस्य पनि गुमाउन पुगेका छन् ।

याे पनि: घिमिरे भए रुपन्देही ५ मा एमालेको आधिकारिक उम्मेदवार