सामाजिक सञ्जालबाट गरिएकाे विज्ञापन पनि निर्वाचन खर्चमा समावेश हुने

सामाजिक सञ्जालबाट गरिएकाे विज्ञापन पनि निर्वाचन खर्चमा समावेश हुने


ग्लोब नेपाल
513
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूले सामाजिक सञ्जालमा गरेको विज्ञापन पनि निर्वाचन खर्चमा समावेश हुने जनाएको छ ।

सोमबार आयोगले एक विज्ञप्ति जारी गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरूले सामाजिक सञ्जालको प्रयोग गरेर चुनावी प्रचार निर्वाचन खर्चमा समावेश हुने जनाएको हो ।

आयोगले जारी गरेको निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति २०७७ बमोजिम सामाजिक सञ्जालबाट गरिएका र गरिने प्रचारको अनुगमन र मूल्यांकन भइरहेको आयोगले जनाएको छ ।

उम्मेदवारी दिएकामध्ये कतिपयले सामाजिक सञ्जालमा आफ्नो प्रचारप्रचार र विज्ञापन गर्न थालेको आयोगले जनाएको छ । आयोगले भनेको छ, ‘सामाजिक सञ्जालमार्फत हुने विज्ञापनको सबै खर्च विवरण समेत चुस्त दुरुस्त राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिन्छ ।’

आइतबार देशभर १६५ प्रतिनिधिसभा सदस्य र ३३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता भएको छ ।