काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गरेका छन् ।
गठबन्धनबाट बाहिरिएर पनि सरकार नछाडेपछि प्रधानमन्त्री देउवा जसपाका मन्त्रीहरुलाई हटाएका हुन् । सत्तारुढ गठबन्धन छोडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवा रुष्ट बनेका थिए ।
प्रधानमन्त्री देउवाले जसपाका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएर उनीहरुको मन्त्रायको जिम्मेवारी पनि आफैंले राखेका छन् ।
यस्तै, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)को पदावधी सकिएकाले उक्त मन्त्रालयको जिम्मेवारी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सुम्पिएका छन् । राष्ट्रपति निवासका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पदमुक्त गरेकी हुन् ।
प्रतिक्रिया