काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पाँचदलिय गठबन्धनको सरकारले हरेक नेपालीको आवाजलाई सम्बोधन गरेको दाबी गरेको छ।
कांग्रेसले पार्टी कार्यालय सानेपा ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाश शरण महतले गठबन्धनले देशलाई सही ट्याकमा ल्याएको भन्दै गठबन्धनले हरेक नागरिकका आवाजलाई सम्बोधन गर्ने कोसिस गरिरहेको दाबी पनि गरे।
प्रवक्ता महतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गरेर संवैधानिक अंगमाथि भएको प्रहार गरेपछि गठबन्धन बनेको बताए। ‘कुन परिस्थितिमा गठबन्धनको सरकार बनेको सबैलाई थाहा छ’, उनले भने,‘गत साल असार निर्माण भएको गठबन्धन सरकारले छोटो समयमा देशलाई अडरमा ल्याएको छ। कोरोना नियन्त्रण, विदेश नीतिमा सन्तुलन, जनताको विषयलाई प्राथमिकता राखेको छ।’
संविधानले दिएको अधिकारलाई पूर्ण रूपमा लागू गरेको महतले बताए। ‘हामीले सीट बाँडफाँट गरेपछि चुनावी तयारीमा जुटेका छौँ। जसपा बाहिरिएको छ’, उनले भने,‘हामीले उदारताको साथ सीट बाँडफाँट गरेका छौँ। तर, जसपा बाहिरिएको छ। उहाँहरूको मूल्यांकन जनताबाट हुन्छ।’
प्रतिक्रिया