काठमाडौं । निर्वाचन आयोगले चुनावमा सरकारी स्रोतको दुरूपयोगमा निगरानी गर्न भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ।
आयोगले हेलिकोप्टर तथा अन्य सरकारी साधनस्रोतको प्रधानमन्त्री, मन्त्रीहरू र प्रदेश सरकारमा रहेका व्यक्तिहरूले उपयोग गरेकोबारे अनुसन्धान गर्न सोमबार अख्तियारलाई पत्र लेखेको हो । आयोगको बैठकले निर्वाचन आचारसंहिता पालना गर्नका लागि पटकपटक राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दै आएको, राजनीतिक दलका प्रमुख पदाधिकारीबाट निर्वाचन आचारसंहिता पालनाको प्रतिबद्धता समेत प्राप्त गरेको तर ‘निर्वाचनका सन्दर्भमा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री लगायतका पदाधिकारीले निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्यको लागि हेलिकप्टर लगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने गरेको भनी विभिन्न माध्यमबाट सूचना प्राप्त भएकोले’ अख्तियारलाई पत्र लेख्नुपरेको उल्लेख गरेको छ।
‘निर्वाचन प्रचार प्रसारका सन्दर्भमा सरकारी साधन स्रोत (हेलिकप्टर तथा अन्य साधन समेत) प्रयोग गर्नु निर्वाचन आचारसंहिताको प्रतिकूल हुनुको साथै यदि अख्तियारको दुरुपयोग भएको हो भने निर्वाचन प्रचार प्रसारका सन्दर्भमा हेलिकप्टर लगायतका सरकारी साधनको उपयोग भएको विषयमा आवश्यक निगरानी तथा अनुसन्धान गरीदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाउने’, आयोगले अख्तियारलाई पत्र लेख्नुको कारणबारे भनेको छ ।
निर्वाचन प्रचारसँग सम्बन्धित गतिविधि गर्दा हेलिकप्टर प्रयोग भएको भन्ने सूचना आएकाले त्यसको खर्च कसले व्यहोर्ने भन्ने कुरा जानकारी गराउन पनि आयोगले भनेको छ ।




प्रतिक्रिया