काठमाडौं । दार्चुला घटनाबारे ध्यानाकर्षण गराउँदै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको छ ।
सडक निर्माणका क्रममा भारतीय पक्षले विस्फोट गराउँदा दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनाबारे आइतबार मन्त्रालयले काठमाडौंस्थित भारतीय दूतावासलाई ‘कूटनीतिक नोट’ पठाएको परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ । गृह मन्त्रालयबाट कूटनीतिक नोट पठाउनका लागि परराष्ट्रलाई शनिबार नै पत्र पठाए पनि घटनाको विस्तृत रिपोर्ट नआएका कारण आइतबार ‘कूटनीतिक नोट’ पठाइएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
नोटमा पीडितलाई उचित राहत र क्षतिपूर्ति दिलाउनका लागि आग्रह गरिएको छ । यसका साथै अन्तर्राष्ट्रिय सिमानामा यस्ता गतिविधि गर्दा नेपाली पक्ष र सम्बन्धित स्थानीय प्रशासन र बासिन्दालाई समेत अगाडि नै जानकारी दिन आग्रह गरिएको छ । साथै कूटनीतिक नोटमा त्यस्ता कार्य गर्दा विशेष सावधानी अपनाउन र मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत दिन माग गरिएको छ ।
स्रोतकाअनुसार घटनाबारे नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतको विदेश मन्त्रालयलाई ध्यानाकर्षण गराउने भएको छ। भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत पनि उपलब्ध गराएको छ ।
धारचुला–लिपुलेक–कैलाश मानसरोवर सडक खण्डअन्तर्गत नज्याङ–लखनपुर भीरमा भारतीय पक्षले बम विस्फोट गराउँदा बतासिएर वारि तम्बाकुमा आइपुगेको ढुंगा लागेर शुक्रबार बिहान स्थानीय पवन महराको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रतिक्रिया