डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश


ग्लोब नेपाल
679.3k
Shares

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवार बनेकी डा. तोसिमा कार्कीकाे उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

मेडिकल काउन्सिलको सदस्य रहेकी कार्कीको लाभको पदमा रहेको पाइएको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर नियमित तलब भत्ता नलिने भएको कारण उक्त पद लाभको पद नरहेको जिकिर गर्दै कार्कीले सोमबार सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएकी थिइन् ।

उनको उक्त रिटमा न्यायाधीश चुडालको इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चको आदेशसँगै कार्कीको उम्मेदवारी तत्कालका लागि कायम भएको छ ।

अब दुई न्यायाधीश रहने संयुक्त इजलासमा यस मुद्दाको सुनुवाइ हुनेछ । विपक्षीहरुले उम्मेदवारी कायम नरहने तथ्य र प्रमाण पेस गर्न सकेमा उनको अन्तरिम आदेशको निरन्तरता नरहन सक्नेछ भने दुई न्यायाधीशको इजलासले समेत अन्तरिम आदेशको निरन्तरता हुने आदेश गरेमा उनी चुनावी प्रतिस्पर्धामा सहभागी हुन पाउनेछिन् ।