काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। बुधबारदेखि इजलासमा थुनछेक बहस सुरू भएको हो। बुधबार (आज) इजलासमा नौ जना वकिलले बहस गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।
बुधबारको बहसमा पीडितको पक्षमा चार जना सरकारी वकिल, तीन जना वकिल र प्रतिवादीको तर्फबाट दुई जना वकिलले बहस गरेका छन्। सन्दीपको पक्षबाट अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले बहस गरेका छन्।थुनछेक बहस बिहिबार (भोलि) पनि जारी रहनेछ। बहस सकिएपछि इजलासले आदेश जारी गर्नेछ।
यसअघि मंगलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो । १७ वर्षीय नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो ।
२४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबर्जस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।
प्रतिक्रिया