डडेल्धुरा । राजनीतिक माहोल अनुकूल होस् या प्रतिकूल । जस्तो अवस्थामा पनि २०४८ सालदेखि डडेल्धुराबाट निर्वाचनमा अपराजित यात्रा गरिरहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिनदेखि आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचनका सन्दर्भमा गृहजिल्ला डडेल्धुरामा आयोजना गरिएका चुनावीसभामा व्यस्त छन्।
सत्ता–गठबन्धन दलका साझा उम्मेदवारसमेत रहनुभएका प्रधानमन्त्री देउवालाई अघिल्लो आमनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)ले चुनौती दिएको भए पनि यसपटक माओवादी केन्द्रको सुदूरपश्चिमको नेतृत्वकर्ता नेता खगराज भट्ट देउवालाई सघाइरहेका छन् । गठबन्धनको प्रदेशसभा सदस्यको उम्मेदवार भएर भट्ट आफू पनि चुनावी मैदानमा छन् । प्रधानमन्त्री देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालको निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भइसकेका छन् । उनी विसं २०६४ मा कञ्चनपुर ४ र २०७० मा कैलाली- ६ बाट पनि विजयी भएका थिए । गत २०७४ सालको निर्वाचनमा १६ वटा प्रतिनिधि सभा रहेको सुदूरपश्चिममा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ जित्ने एक्ला नेतासमेत उनी हुन् ।
माओवादी नेता भट्ट तीन पटक देउवासित पराजित भएका थिए । नेपाली कांग्रेस डडेल्धुराका पार्टी सचिव हेमराज चटौतले डडेल्धुराबाट कांग्रेसका उम्मेदवार देउवा बहुमतले जित्ने दाबी गरे । उनले स्थानीय तहको मतलाई मात्रै आधार बनाउँदा कांग्रेससहित गठबन्धनका प्रदेशका उम्मेदवारलाई जित्न कुनै समस्या नहुने दाबी गरे ।
“पालिकाको निर्वाचनमा कांग्रेस एक्लैको २२ हजार बढी, माओवादी केन्द्रको १३ हजारको हाराहारीमा मत हो”, सचिव चटौतले भने,“प्रतिस्पर्धीको सबैको मिलाएर पनि १५ हजार मत देखिन्न ।” उनले प्रधानमन्त्री देउवा आइतबार पर्शुराम र आलितालमा चुनावीसभा सकेर धनगढी फर्किने कार्यक्रम रहेको बताए ।
उनले देउवा डडेल्धुराको उम्मेदवार मात्रै नभई सुदूरपश्चिमको अभिभावक भएकाले पनि यसपटक जिताएर पुनःमुलुकको कार्यकारी पदमा पुग्नेमा आशावादी रहेको बताए । देउवासित चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेस बिपीका कर्ण मल्लले स्थानीय निर्वाचनमा समेत नेकपा एमालेसित चुनावी तालमेल गरेका थिए । प्रतिनिधिसभाका उम्मेदवार मल्ललाई नेकपा एमालेले सर्मथन गरेको छ।
एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साउँदले आफूहरुको समर्थन सुरुबाटै कांग्रेस बिपीका उम्मेदवारलाई रहेको बताए । “हाम्रो समर्थन कर्ण मल्ललाई भएअनुसार हामी मसिनो तरिकाले जिल्लाभर मतदातासित मत माग्दै हिँडेका छौँ”, अध्यक्ष साउँदले भने । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवालाई टक्कर दिने पार्टी र उम्मेदवारको किचलोले उनलाई जित्न झन सहज हुने कांग्रेस नेताहरुको बुझाइ छ ।
डडेल्धुराबाट सत्ता–गठबन्धनबाट डडेल्धुरा प्रदेशसभा १ मा माओवादी केन्द्रका नेता खगराज भट्ट र २ मा नेपाली कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा चुनावी मैदानमा छन् । यता एमाले र कांग्रेस बिपीको चुनावी तालमेलले डडेल्धुराबाट प्रदेशसभा १ मा पूर्वप्रदेश मन्त्री पठानसिंह बोहरा र २ बाट गजेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।
दुवै एमालेका नेता हुन् । सात वटा पालिका रहेको डडेल्धुरामा स्थानीय तहको निर्वाचनमा पाँच नेपाली कांग्रेस र दुई पालिकामा माओवादी केन्द्र विजयी भएको थियो ।
प्रतिक्रिया