काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आगामी मङ्सिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने बताएका छन् ।
आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको समृद्धिका लागि पनि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको बताए । उनले भने, “लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको समृद्धिका लागि पनि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक छ र आगामी निर्वाचनपछि यस्तो सरकार बन्छ ।”
नेता महतले संविधानको रक्षा र देशको विकास गर्नका लागि भए पनि कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताए । “विभिन्नरुपमा संविधानको मूल मर्ममाथि प्रहार हुन थाल्यो । प्रतिगामी विभिन्न बहानामा सल्बलाउने जस्तो देखियो र नेपाली जनताले नै वर्तमान सरकारको चाह गरेका हुन्”, उनले भने,“अब पनि संविधानको रक्षा र देशको विकास गर्नु छ, हाम्रो यही दायित्व बहन गर्न कांग्रेस नेतृत्वको सरकार आवश्यक हो ।”
प्रवक्ता डा महतले यो निर्वाचन सबैका लागि कोसेढुङ्गा सावित हुने पनि बताए । उनले निर्वाचनपछि मुलुकमा स्थायी सरकार बन्नेमा जोड दिए । उनले निर्वाचनमा कांग्रेस नेतृत्वको वर्तमान सत्ता साझेदार दलको गठबन्धनले नै स्पष्ट बहुमत हासिल गर्ने बताए । “यो निर्वाचनमा स्पष्ट बहुमत कांग्रेसको पक्षमा आउँछ र कांग्रेसकै नेतृत्वमा सरकार पनि बन्छ ।”
नेता महतले आगामी निर्वाचनपछि नेपाली कांग्रेस पहिलो दल बन्नेसमेत दाबी गरे । उनले भने,“हिजो संसद्मा नेपाली कांग्रेस थोरै सिटका साथ उपस्थित थियो र पनि नेपाली जनता तथा कांग्रेसबाहेकका अन्य पार्टीले कांग्रेसकै नेतृत्वको अपेक्षा गरे भने अबको चुनावपछि त कांग्रेस पहिलो पार्टी नै बन्ने निश्चित छ ।” प्रवक्ता महतले नेपाली कांग्रेसले आगामी चुनावमा समानुपातिकमा मत प्रतिशत पहिलेको तुलनामा धेरै बढाउने बताए ।
गठबन्धनका दलको उदेश्य एउटै भएकाले गठबन्धन गरिएको हो भन्दै चुनावपछि यही गठबन्धन मिलेर सरकार बनाउने र देशमा विकासको लहर ल्याउने उनको दाबी थियो ।
प्रतिक्रिया