नेकपा (एमाले) : प्रदेश–१ र लुम्बिनीमा बलियो, कर्णालीमा शुन्य

नेकपा (एमाले) : प्रदेश–१ र लुम्बिनीमा बलियो, कर्णालीमा शुन्य



काठमाडौं । प्रतिनिधिसभामा १ सय ६५ सिटमा पहिलो हुने निर्वाचनमा नेकपा एमालेले झन्डै ४५ सिट जित्ने अनुमान गरिएको छ । यो समाचार तयार पार्दासम्म ३४ सिट जितिसकेको छ भने ११ स्थानमा अगाडि छ ।

स्याङ्जा र बाजुरामा मत गणना रोकिएको छ । यी दुवै क्षेत्रमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा छ । स्याङ्जामा कांग्रेस उपाध्यक्ष धनराज गुरुङ र एमाले नेतृ पदमादेवी अर्याल तथा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेसँग एमाले प्रभावशाली नेता कर्ण थापाबीच बाजुरामा प्रतिस्पर्धा भइरहेको छ ।

‘मंसिर ४ पछि एमाले सरकार’ एजेन्डा बोकेर निर्वाचनमा होमिएको एमालेले यति धेरै सिट जित्छ भन्ने अनुमान धेरैले लगाएका थिएनन् । यसको कारण थियो, एमालेभन्दा पाँच दलीय गठबन्धन बलियो छ । कांग्रेस नेतृत्वको गठबन्धनले बहुमत ल्याउने आकांलन गरिएको थियो । तर एमाले समानुपातिकमा पनि अगाडि छ भने पहिलो हुने निर्वाचन प्रणालीमा पनि सन्तोषजक सिट जित्न सफल भएको छ ।

एमालेको सबैभन्दा राम्रो संगठन प्रदेश–१ र लुम्बिनी प्रदेशमा देखियो भने कर्णालीमा शुन्य छ । २८ सिट रहेको प्रदेश–१ एमाले एक्लैले १६ सिट जितेको छ । इलामको २ वटा, मोरङको २ वटा र सुनसरीको ३ वटा क्षेत्रबाट नतिजा आउन बाँकी छ । तर ती क्षेत्रमा एमालेले बलियो अग्रता लिएको छ ।

मधेश प्रदेश र सुदूरपश्चिममा एमाले कमजोर ठानिएको थियो, यद्यपि मधेशबाट एमालेले ७ सिट जितेको छ भने सुदूरपश्चिमबाट २ सिट जित्यो । सुदूरपश्चिमको एक स्थानमा मत गणना हुन बाँकी नै छ । माओवादीबाट एमालेमा प्रवेश गरेका प्रभु साहले अन्तिम समयमा आएर एमालेलाई धोका दिएकाले मधेश प्रदेशमा एमाले संगठनमा विचलन आएको अनुमान गरिएको थियो । सुदूरपश्चिममा भीम रावललाई संगठनबाट पाखा लगाउन खोज्दा एमालेको या हविगत भएको जानकारहरु बताउँछन् ।

प्रदेश–१ पछि एमालेको बलियो संगठन लुम्बिनीमा देखियो । २६ सिट रहेको लुम्बिनीमा एमालेले ११ सिट जितेको छ । एमालेले अग्रता लिएको रुपन्देहीका १ र २ नम्बर क्षेत्रको नतिजा सार्वजनिक हुन बाँकी छ । तर ती दुवै क्षेत्रमा एमालेको जीत निश्चितजस्तै छ ।

कर्णालीपछि एमालेको कमजोर संगठन बागमति प्रदेशमा देखियो । ३३ सिट रहेको बागमतिमा एमालेले ५ वटा मात्र जित्यो । काभ्रेको दुवै सिट, काठमाडौं र ललितपुरमा एक–एक सिट जित्यो भने मकवानपुरमा एउटा सिट एमालेको पक्षमा गयो । १८ सिट रहेको गण्डकीमा एमालेले ५ वटा जितेको छ । कास्कीको तीनवटै सिट आफ्नो पक्षमा पार्न सफल भएपछि गण्डकीबाट एमालेलाई ठूलै राहत भयो । उसले पर्वत र लम्जुङमा सजिलो जित हात पारेको थियो ।

प्रदेश अनुसार एमालेको जीतलाई विश्लेषण गर्ने हो भने संगठनमा कतै पनि एकरुपता देखिँदैन । प्रदेश १ र लुम्बिनी प्रदेशबाहेक अन्य पाँचवटा प्रदेशमा एमाले संगठन खासै मजबुद देखिँदैन ।