विश्वकप फुटबल: नेदरल्यान्ड र अर्जेन्टिना क्‍वाटरफाइनलमा

विश्वकप फुटबल: नेदरल्यान्ड र अर्जेन्टिना क्‍वाटरफाइनलमा



दोहा । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत शनिबार राति र आइतबार बिहान भएको खेलमा नेदरल्यान्ड र अर्जेन्टिना विजयी भएका छन् । जीतसँगै उनीहरु क्‍वाटरफाइनलमा प्रवेश गरेको छन् । नेदरल्यान्डले अमेरिकालाई ३–१ र अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ ले पराजित गरेको हो ।

कतारको अहमद विन अली रङ्गशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्‍वाटरफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सीले खेलको ३५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने ५७औं मिनेटमा जुलियान अल्भारेजको गोलपछि अग्रता दोब्बर भयो । खेलको ७७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अष्ट्रेलियालाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त हुन सकेन । प्रतियोगिताको क्‍वाटरफाइनलमा प्रवेश गर्ने अर्जेन्टिना दोस्रो टोली बनेको छ ।

नेदरल्यान्ड्स क्वार्टरफाइनलमा
अमेरिकालाई ३–१ ले पराजित गर्दै नेदरल्यान्ड्स कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा स्थान बनाएको छ । शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेदरल्यान्ड्सलाई जित दिलाउँन मेम्फिस डिपाए, डेले ब्लाइन्ड र डेन्जेल डम्फ्रिसले एक-एक गोल गरेका थिए । खेलको १०औं मिनेटमा डम्फ्रिसको पासमा नेदरल्यान्ड्सलाई डिपाएले अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा डम्फ्रिसकै पासमा डेले ब्लाइन्डले अग्रता दोब्बर पारे ।

खेलको ७८औं मिनेटमा अमेरिकाका हाजी राइटले अमेरिकालाई खेलमा फर्काउने प्रयास गरे । तर, ८१औं मिनेटमा डम्फ्रिसले गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरे । अमेरिका बाहिरिएसँगै जारी विश्वकपमा उत्तर तथा मध्य अमेरिकी टोलीहरुको चुनौती समाप्त भएको छ । अमेरिका अघि मेक्सिको, क्यानाडा र कोस्टारिका समूह चरणबाटै विदा भइसकेका थिए ।

क्‍वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम १६ अन्तर्गत आज राति ८:४५ बजे जापान र क्रोएसिया र आज राति १२:४५ बजे ब्राजिल र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्नेछन् ।