कोलोराडोमा यःमरी पुन्ही कार्यक्रम सम्पन्न (फोटोफिचर)

कोलोराडोमा यःमरी पुन्ही कार्यक्रम सम्पन्न (फोटोफिचर)



कोलोराडो । यःमरी पुन्हीको उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले शनीबार एक कार्यक्रम आयोजना गरी यःमरी पुन्ही कार्यक्रम मनाएका छन् । नेवा खःल कोलोराडोले आयोजना गरेको यःमरी पुन्ही कार्यक्रममा सहभागी भई बाल बालिकाहरुलाई यःमरी बनाउन सिकाई, कार्यक्रममा उपस्थित सबैलाई बितरण गरी हर्सोउल्लास साथ उनीहरुले यःमरी पुन्ही मनाएका हुन् ।

ब्रुमफिल स्थित दरवार रेष्टुरेन्टमा नेवा खःलका अध्यक्ष भुषणलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोलोराडो स्थित बिभिन्न संघ संस्थाका पदाधिकारी, समाजसेवी, बुद्धीजिवी, कलाकार, आयोजक संस्थाका पदाधिकारी, पत्रकार, गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।

आयोजक संस्था नेःवा खलका उपाध्यक्ष मनोजकाजी तुलाधरले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए भने, महासचिव संजय शाक्यले कार्यक्रम संचालन गरेका थिए । संस्थाका अध्यक्ष भुषणलाल श्रेष्ठले कार्यक्रमको महत्ब र यसको ईतिहास कोट्याएका थिए ।

ऐतिहासिक कथन अनुसार पाञ्चाल देश हालको पनौतिमा सुचन्द्र महाजन नाम गरेका दानी र धर्मात्मा दम्पत्ती बस्दथे । उनीहरुको चर्चा संसारभर फैलिएको थियो । एक दिन कुवेरलाई पनि उनीहरु कत्तीका दानी रहेछन् भनी जांच्न दरिद्रको भेष गरि ति दम्पत्तीको घर गएछन् । सुचन्द्र दम्पत्तीले बढो श्रद्धा पुर्वक भोजन गराएको देखि खुसी भई यमरीको महत्व बताएछन् । नयां अन्न घरमा ल्याएपछि भकारीमा गणेश, कुवेर र तिनका बाहान सहितको प्रतिमा बनाई तिनलाई यःमरी चढाउने बिधि बताएर कुवेर अन्तरध्यान भएछन् । त्यो दिन मंसिर शुक्ल पुर्णिमा परेको थियो । त्यसैबेला देखि यःमरी पुन्ही मनाउने चलन रहेको बताईन्छ ।

कार्यक्रमा शुरेन्द्र महर्जन, मनोजकाजी तुलाधर, शुरेस श्रेष्ठ, शुरेस ताम्राकार लगायतका कलाकारहरुले यःमरी पुन्ही संग संम्बधित गीत गाई, मंगलधुन, धिमेबाजा बजाएर सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए । मातृभुमीबाट यतिटाढा रहेर पनि आफ्नो संस्कृती पहिचानको लागी नेवारी समुदायले अयोजना गरेको यःमरी पुन्ही कार्यक्रम प्रभावकारी थियो ।

दोश्रो पुस्तामा शिप हस्तान्तरण गर्न कार्यक्रम स्थलमा नै बाल बालिकाहरुलाई यःमरी बनाउन सिकाईएको थियो । बाल बालिकाहरुले पनि उत्सुक्ता पूर्वक कार्यक्रममा सहभागी भई यःमरी बनाएका थिए । यसरी सकृयता पूर्वक यःमरी बनाउने बाल बलिका तथा यःमरी बनाएर सहयोग गर्नुहुने अभिभावकहरुलाई कार्यक्रममा उपस्थित बिभिन्न संघ संस्थाका पदाधिकारी, गन्यमान्य तथा आयोजक संस्थाका अध्यक्षबाट पुरस्कार तथा प्रशंसा पत्र प्रदानगरी सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष भुषणलालले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै मातृभुमीको रहन सहन तथा चाल चलनबाट टाढा रहेका हाम्रा बाल बालिकाहरुलाई यस्ता कार्यक्रमहरुमा सहभागी नगराउने हो भने हाम्रो संस्कृती यही पुस्ताबाटै लोप हुने खतरा रहेको बताएका थिए । त्यस्तै उनले लुम्बीनीमा निमार्ण भएको नेपालको बौद्ध बिहार स्थित निर्माणाधिन गेष्टहाउसमा देश बिदेशमा रहेका सबै नेपालीको अपनत्व होस् भन्ने उद्धेश्यले एउटा कोठा निर्माण गर्न कोलोराडो नेःवाखल समक्ष प्रस्ताव आएकोले ईच्छुक सबैलाई यस अभियानमा सहभागी हुन अनुरोध गरे ।