संसदीय दलको नेता चुनिए लगत्तै प्रचण्ड बालुवाटारमा

संसदीय दलको नेता चुनिए लगत्तै प्रचण्ड बालुवाटारमा


ग्लोब नेपाल
783
Shares

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ । पार्टीको संसदीय दलको नेता चयन भए लगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन् । उनीहरुबीच नयाँ सरकार गठनबारे छलफल भइरहेको श्रोतले जनाएको छ ।

संसदीय दलमा अध्यक्ष दाहाल सर्वसम्मत
नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले नेतामा अध्यक्ष दाहाललाई चयन गरेको हो ।

यस्तै, दलको प्रमुख सचेतकमा हितराज पाण्डे निर्विरोध चयन भएका छन् । दलको उपनेता र सचेतक भने चयन गरिएको छैन । यस्तै, राष्ट्रियसभातर्फ दलको नेता नारायणकाजी श्रेष्ठ चयन भएका छन् । प्रमुख सचेतकमा गोपीबहादुर सार्की अछामी र सचेतकमा गङ्गाकुमारी बेल्बासे पहिलेदेखि नै कार्यरत छन् ।

माओवादीको आजको पदाधिकारीको बैठकले संसदीय दलको नेतामा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री दाहाललाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो । सोही बैठकले प्रमुख सचेतकमा नेता पाण्डेलाई चयन गर्ने निर्णय गरेको थियो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्ष र समानुपातिक गरी ३२ स्थानमा जित हासिल गरेका छ ।