कांग्रेस गम्भीर र निर्ममतापूर्वक समीक्षा गरेर अघि बढ्छ: महामन्त्री शर्मा

कांग्रेस गम्भीर र निर्ममतापूर्वक समीक्षा गरेर अघि बढ्छ: महामन्त्री शर्मा


ग्लोब नेपाल
1.5k
Shares

बिर्तामोड । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा गम्भीर र निर्ममतापूर्वक समीक्षा हुने स्पष्ट परेका छन् । उनले पार्टी हिजो जसरी चलेको थियोे अब त्यसरी नचल्ने जिकिर समेत गरे । ४६ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आफ्नो निर्वाचन क्षेत्रको चन्द्रगढीमा शनिबार आयोजित कार्यक्रममा उनले भने,”काङ्ग्रेस शुद्धीकरणको चरणमा छ, अहिलेको प्रतिकूलतालाई चिरेर पार्टी अघि बढ्छ।”

काङ्ग्रेस कार्यकर्तालाई निरास र विचलित नहुन पटकपटक आग्रह गरेका शर्माले नैतिक र उच्च मनोबल राख्न आव्हान समेत गरे। “काङ्ग्रेस जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरेर व्यवस्था नै कु गर्दा पनि विचलित नभएको पार्टी हो” उनले भने,” अहिलेको अनपेक्षित घटना हो। तर, काङ्ग्रेसलाई यसमा नै अल्मलिएर बस्ने छुट छैन।” काङ्ग्रेसको हातबाट चामत्कारिक रूपमा सत्ता फुत्किएको बताएका महामन्त्री शर्माले त्यसैगरी फिर्ता हुन सक्ने सम्भावना समेत औँल्याए। यद्यपि, उनले अहिले नै धेर कुरा बोल्न नमिल्ने सुनाए ।

पछिल्लो राजनीतिक घटनाक्रमबाट पटक्कै विचलित नदेखिएका शर्माले पार्टी शुद्धीकरण र पुनर्जागरणको चरणमा रहेको जिकिर समेत गरे। ” पार्टी नवीन प्रारम्भको चरणमा छ, नहुनु पर्ने घटनाले त्यो निश्चित गर्‍यो ” उनले भने,” सामान्य रुपले हेर्दा सबै गुमाए जस्तो लाग्छ, त्यो हुँदै होइन काङ्ग्रेस कुटिलतामा पराजित भएको मात्रै हो।” उनको कुटिलता शब्द एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित थियो ।

“जनताको मतलाई सम्हाल्ने हो, ढुक्क हुनुस् काङ्ग्रेस जनताको मतलाई सम्हालेर अघि बढ्छ ” उनले भने,” आलोचना र आत्मालोचना गरेर पार्टी अगाडि बढ्नेमा कुनै शंका छैन।” शर्माले आलोचनाको बीचमा गठबन्धन गरेको तर अपेक्षा बीच जाेगाउन नसकेको बताए । उनले गठबन्धन गरेर चुनाव लडेका शक्तिलाई अनावश्यक गाली गाली गर्न आवश्यक नभएको बताए । शर्मा राजनीतिमा संयम र शालीनता जरुरी भएको औंल्याए ।

सांसदको सपथ ग्रहण गरेर पहिलोपटक गृहजिल्ला आएका शर्मा दुई दिन झापा बस्ने छन् । उनले आज नै कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर बिहीबार मृत्यु भएका झापा बिर्तामोड नगरपालिका १ का ४० वर्षीय निराकार पाण्डेको परिवारलाई भेटेका छन् । उनले निराकारको शव नेपाल ल्याउने आफूहरूले समन्वय गरिरहेको बताए ।

उनले यसअघि ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचाररत रहेका नेकपा एकीकृत समाजवादीका नेता दुर्गाप्रसाद भट्टराईलाई भेटेका थिए। अहिले शर्मा मरिमराउमा समवेदना व्यक्त गर्न बाहुनडाँगी पुगेका छन् ।