काठमाडौं । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पनि कांग्रेसले तत्कालीन गठबन्धनका नेताहरूलाई धेरै विश्वास गर्दा यस्तो परिस्थिति आइपरेको बताएका छन् । आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले गठबन्धन टुट्नुमा कांग्रेस दोषी नभएको स्पष्ट पारे । उनले गठबन्धन टुट्नुको कारण प्रचण्डको भूमिका भएको उनले बताए ।
गठबन्धन टुट्नु र प्रचण्ड प्रधानमन्त्री बनिसकेको अवस्थाबारे सभापति देउवाले सार्वजनिक रूपमा अहिलेसम्म प्रतिक्रिया दिएका छैनन्। नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आज भएको पत्रकार सम्मेलनमा प्रवक्ता महतलाई सञ्चारकर्मीले गठबन्धन टुट्नुमा सभापति देउवाको भनाइ के छ भनेर सोधेका थिए।
त्यसमा जवाफ दिँदै प्रवक्ता महतले भने, ‘विश्वासमा गठबन्धन अघि बढ्ने हो। तर कहिलेकाहीँ आँकलन गरेजस्तो हुँदैन। तर केही छैन, विचलित हुनुपर्ने अवस्था छैन। वी विल कम ब्याक भनेर उहाँले भन्नुहुन्छ। हामी फेरि सशक्त रूपमा अघि बढ्छौँ भनेरै उहाँको हौसलापूर्ण कुरा नै छ।’
प्रतिनिधि सभामा ८९ सिट जितेको काँग्रेसले माओवादीसँग पहिलो कार्यकाल प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको थियो। प्रचण्डले पहिलो कार्यकाल देउवालाई प्रधानमन्त्री छाड्न मानेनन्, नेकपा एमालेसहित ७ दलको समर्थनमा गत पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।


प्रतिक्रिया