काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् विघटनको विषय प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको विग्रहको कारण बन्न सक्ने बताएका छन् ।
संसद् भवनमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आजको बैठकमा नै प्रधानमन्त्री अप्ठ्यारोमा परेको बताए । “ओलीजीले हालको प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्नुभयो । संसद् विघटन सोह्रै आना सही हो भनिरहँदा प्रचण्ड टेबुल ठोकौँ कि नठोकौँ भनेर अलमलमा पर्नुभयो,” उनले भने । अघिल्लो पटकको विवादको कारणबारे छलफल नै नगरी अघि बढेकाले सोही विषय विग्रहको कारण बन्ने थापाको भनाइ छ ।
“आजका पहिलो बैठकमा उहाँहरूले गरेको सम्बोधनले के सङ्केत गर्छ भने जुन विषय अघिल्लो संसदमा विग्रहको कारण बन्यो आज यो विषयको बीजारोपण भयो,” उनले भने, “यो नै विग्रहको कारण बन्छ । यो विषय हेर्दा सामान्य देखिए पनि मलाई विशेष लाग्यो ।”


प्रतिक्रिया