आईजीपी सिंहले अहिलेसम्म किन भेटेनन् एमाले अध्यक्ष ओलीलाई ?

आईजीपी सिंहले अहिलेसम्म किन भेटेनन् एमाले अध्यक्ष ओलीलाई ?


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । शक्तिकेन्द्रको मियो बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अहिलेसम्म भेट गरेका छैनन् । २०५२ सालमा गृहमन्त्री भएपछि केपी ओलीसँग हरेक आईजीपीले भेट गर्दै आएका थिए । तर, सिंह यस्ता प्रहरी अधिकृत हुन् जसले केपी ओलीसँग अहिलेसम्म भेटेका छैनन् ।

२०७६ वैशाख १९ मा विश्वराज पोखरेल एसएसपीबाट डिआईजीमा बढुवा भए । केपी ओली प्रधानमन्त्री भएकै बेला २०७७ साल मंसिर २४ गते पोखरेल डिआईजीबाट एआईजीमा एकल बढुवा भएका थिए । २०७५ कार्तिक १० गते डिआईजी सुशील भण्डारीको दुर्घटनामा निधन भएपछि उनको स्थानमा प्रहरी नियमावली २०७१ नियम २७ को उपनियम ४ बमोजिम पोखरेललाई बढुवा गरिएको थियो । तत्कालिन प्रधानमन्त्री ओलीको यो निर्णयबाट सिंह एकदमै रुष्ट बने । त्यसबेलादेखि उनले ओलीविरुद्ध सत्तोसरोप गर्ने गरेको प्रहरी अधिकृतहरु बताउँछन् ।

केही समयपछि सत्ता परिवर्तन भयो । ओलीको स्थानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए । त्यसपछि सिंहले चलखेल शुरु गरे । परिणामस्वरुप देउवा सरकारले २०७८ चैत १७ गते सिंहलाई डिआईजीबाट एआईजीमा बढुवा ग-यो । त्यसको एक महिनापछि अर्थात् २०७९ बैशाख १८ गतेको मन्त्रिपरिषद्को निर्णयले सिंहलाई आईजीपी बनाएको थियो । त्यसपछि उनलाई एमाले अध्यक्ष ओलीसँग भेट गर्नुपर्ने आवश्यकता परेन ।

पछिल्लो समयमा आईजीपी सिंह नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाएर ५७ वर्ष उमेर हद कायम गर्ने र आफ्नो कार्यकाल लम्ब्याउने लबिङमा दिलोज्यान दिएर लागेका थिए । देउवा सरकार थियो, उनलाई सजिलो पनि थियो । प्रक्रिया अगाडि बढ्यो । त्यतिबेलाको गृहमन्त्रालयको प्रस्तावलाई अर्थमन्त्रालय समेतले सहमति दिइसकेको थियो । सम्पूर्ण प्रकृया पूरा भएर कानुन मन्त्रालय र लोकसेवा आयोगमा फाइल अगाडि बढाउन मात्र बाँकी थियो ।

यही बेला सत्ता परिवर्तन भयो । देउवाको स्थानमा पुष्पकमल दाहाल प्रधानमन्त्री भए । फाइल अगाडि बढाउन आग्रह गर्दै आईजीपी सिंह एआईजीहरु तथा डिआईजीहरुसमेतको टोली लिएर गृहमन्त्री रवि लामिछानेलाई भेट्न सिंहदरबार पुगे । गृहमन्त्री लामिछानेले प्रहरी अधिकृतका कुरा सुनिसकेपछि प्रहरीमा ३० वर्षे सेवा हद प्रावधानबारे आफू जानकार रहेको र यो फाईल यसअघिको सरकारलाई नगद बुझाएर अगाडि बढाइएकाले यो ‘टपिक क्लोज’ गर्न आग्रह गरेका थिए । गृहमन्त्री लामिछानेको कुरा सुनिसकेपछि आईजीपी सिंहको टोली रातो मुख लगाएर मन्त्रालयबाट बाहिरिएको थियो ।

यता, प्रधानमन्त्री माओवादी अध्यक्ष दाहाल भए पनि सत्ताको साँचो एमाले अध्यक्ष ओलीसँग छ भन्ने जानकारी आईजीपी सिंहलाई नहुने कुरै थिएन । अब उनको ध्यान अहिलेसम्म भेट्न वेवास्ता गरेका उनै अध्यक्ष ओलीतिर सोझियो । उनले विभिन्न माध्यम प्रयोग गरेर ओलीसँग भेट्ने याचना गरिरहेको स्रोतले बताएको छ । आईजीपी सिंह घर फर्किन अब दुई महिना बाँकी छ । यो परिवेशमा सिंह आफ्नो सेवा अवधि बढाउने फाइल बोकेर एमाले अध्यक्ष ओली भेट्न जान पाउँछन् कि पाउँदैनन् भनेर प्रहरी संगठनभित्र नै निक्कै चासोपूर्वक हेरिरहेको बुझिएको छ ।