काठमाडौं । स्पेशिफिकेसनमै मिलेमतो गर्न खोज्दा लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ बन्ने भवन निर्माण कार्य अलपत्र परेको छ । लुम्बिनी प्रदेशस्थित प्रादेशिक पूर्वाधार विकास प्राधिकरणले ५ अर्ब रुपैयाँ लागतमा भवन निर्माणको लागि आह्वान गरेको ठेक्कामा स्पेसिफिकेसनमा नै सेटिङ भएको खुलासा भएसँगै रोकिएको ठेक्का अझै अगाडी बढ्न नसकेपछि रोकिन पुगेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले इजीपी प्रणालीमा देखिएको प्राविधिक समस्याको विवरण पठाई दिन दोस्रो पटक पत्र काट्दासमेत प्रदेश पूर्वाधार विकास प्राधिकरणले यो समाचार तयार पार्दासम्म जवाफ पठाएको छैन । समस्या समाधान गरिदिन भन्दै २०७९ मंसिर २७ गते प्राधिकरणले खरिद अनुगमनलाई पत्र पठाएसँगै त्यसको भोलिपल्ट नै खरिद अनुगमन कार्यालयले प्राविधिक विवरण उपलब्ध गराई दिन भनेपछि प्राधिकरणले त्यसको जवाफ नपठाएको हो ।
इजीपी प्रणाली प्रयोग गर्दा आएको प्राविधिक समस्याको पहिचान गरी समाधान गर्ने कार्यमा व्यवधान उत्पन्न भएको भन्दै कार्यालयले पुस ९ गते छनौट गरिएको नमुना बोलपत्रको तयारीमा देखिएको समस्याको प्राविधिक विवरण उपलब्ध गराई समस्या समाधानका लागि सहयोग गर्न भने पनि आजका दिनसम्म पनि सो उपलब्ध नभएको कार्यालयले जनाएको छ ।
आफूले गरेको गल्ती सार्वजनिक हुने भएपछि विवरण नै नपठाई बसेको सार्वजनिक खरिद अनुगमन कार्यालय स्रोत बताउँछ । अन्तराष्ट्रिय बोलपत्रमा समेत आफ्नोलाई मिलाउन खोज्दा ठेक्का नै अल्झिएको ती स्रोतको दाबी छ ।
भवन निर्माणको लागि आह्वान गरिएको बोलपत्रमा उल्लेखित योग्यताहरू शङ्कास्पद र नाजायज देखिएको भन्दै त्रुटिहरू औँल्याएको खरिद अनुगमन कार्यालयले टेन्डरमा तोकिएका योग्यताबारे प्रश्न उठाएको थियो ।
दुई निर्माण कम्पनीबाहेक अरूले प्रतिस्पर्धा नै गर्न नपाउने गरी स्पेसिफिकेसन बनाएर ‘सेटिङ’ मिलाइएको टेन्डरमा आर्थिक चलखेलको आशङ्का गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रादेशिक पूर्वाधार विकास प्राधिकरणलाई पत्र काटेसँगै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको टेन्डर रद्द गरिएको थियो । त्यति मात्रै होइन, पाँच अर्बको ठेक्कामा मिलेमतो स्वीकार्दै पूर्वाधार प्राधिकरणका सिइओ घिमिरेले राजीनामा नै दिएका थिए ।
प्रतिक्रिया