ह्यारी भण्डारीले अमेरिकी संसद्मा गीता छोएर लिए शपथ

ह्यारी भण्डारीले अमेरिकी संसद्मा गीता छोएर लिए शपथ


ग्लोब नेपाल
189
Shares

वाशिङ्टन डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय हासिल गरेका नेपालीमुलका पहिलो अमेरिकी विधायक डा ह्यारी भण्डारीले शपथ ग्रहण गरेका छन ।

नेपालीमुलबाट अमेरिकाको राज्य संसद्मा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो हुन । मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा आयोजित शपथ ग्रहण कार्यक्रममा भण्डारी हिन्दूहरुको पवित्र ग्रन्थ भागवत गीता छोएर शपथ लिएका हुन ।

शपथ ग्रहणपछि भण्डारीले अमेरिकी प्रजातन्त्रको सुन्दर पक्ष र समावेशीताको कारण एक आप्रवासीको रुपमा मतदाताले मत दिएर विजयी गराउनु महत्वपूर्ण उपलव्धि भएको टिप्पणी गरे ।

मेरिल्याण्ड राज्यको तल्लो सदन जनरल एसेम्बलीमा डिष्ट्रिक आठ बाट १९ हजार सात सय दुई मत ल्याएर गत नोभेम्बर महिनाको ८ तारिखमा भएको निर्वाचनमा विजयी भएका हुन । उनी उक्त क्षेत्रबाट सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन । भण्डारीले अघिल्लो कार्यकालमा दर्जन विधयेक संसद्बाट पारित गराउन सफल भएका थिए । स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा बसेर काम गरेका भण्डारीले महामारीको बेलामा कसरी जुँध्ने र नागरिकको जीवन रक्षार्थ कस्तो रणनीति अङ्गीकार गर्ने भन्ने अत्यन्तै संवेदनशील विषयमा अनुभव लिन पाएको बताए ।

अमेरिकामा एक आप्रवासीको रुपमा नेपालबाट सन् २००५ मा अमेरिका आउका भण्डारीले डेढदशक भन्दा बढी मेरिल्याण्डको विद्यालयमा अध्यापन गराएकाे अनुभव छ, भने मेरिल्याण्डमा रहेको युनिभर्सिटी अफ मेरिल्याण्डबाट विद्यावारीधिसमेत गरेका छन । नेपालको पर्वत जिल्लाको थापाथानामा बुबा अम्मरबहादुर भण्डारी र आमा कान्तिकुमारीको कोखबाट जन्मिएका भण्डारी आफ्नी पत्नी सङ्गीता भण्डारीसहित सपरिवार अमेरिकामा बस्दै आएका छन ।

व्यावसायिक, राजनीतिक र अध्ययनमा भण्डारीको सफलता आप्रवासी नेपाली अमेरिकनको लागि मात्र नभइ एशियाली अमेरिकनहरुको लागि पनि रोचक रहेको छ ।