बालुवा अभावमा नागढुंगा सुरुङमार्ग निर्माण ठप्प

बालुवा अभावमा नागढुंगा सुरुङमार्ग निर्माण ठप्प

सडक विभागका महानिर्देशक थापा भन्छन्– अब देशमा खनिजजन्य निर्माण सामाग्रीहरु चन्द्रमाबाट ल्याउने योजना गर्नु पर्ने हो कि ?



काठमाडौं । निर्माण सामाग्रीको अभावमा राष्ट्रिय गौरवको आयोजना नागढुंगा सुरुङमार्ग र काठमाडौं प्रवेश गर्नेको मुख्य सडक नागढुगा–मुग्लिन सडक आयोजनाको निर्माण कार्य ठप्प भएको छ । गृहमन्त्रालयले पुस २० गते अवैध क्रसर उद्योग बन्द गर्ने निर्णयसँगै देशभरका निर्माण आयोजना प्रभावित भएका हुन् ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार गृहमन्त्रालयले गत पुस २० गते अवैध क्रसर उद्योग बन्द गराउने निर्णयले काठमाडौं उपत्यकादेखि लिएर प्रमुख सडक आयोजना प्रभावित भइसकेको बताएका छन् । ‘अहिले जापानिज निर्माण व्यवसायीव्दारा निर्माणाधीन नागढुंगा सुरुङमार्ग पनि बालुवा नपाएर निर्माण ठप्पको अवस्थामा गएको छ’ महानिर्देशक थापाले भने, ‘ठेकेदारले सरकारसँग हर्जाना दाबी गर्ने संकेत दिएको छ । त्यसरी माग गरेको दाबी ठेक्का सम्झौता अनुसार दिनैपर्छ । त्यस्तो भुक्तानी जनताको करबाटै तिर्न पर्ने होला ।

निर्माण समाग्रीको अभावले नागढुंगा–नौबिसे– मुग्लिन सडक विस्तार कार्य पनि प्रभावित भइरहेको छ । यो सडक आयोजना तीन खण्डमा निर्माण भइरहेको छ । नागढुंगा–नौबिसे पहिलो खण्डमा निर्माण भइरहेको छ भने नौबिसे–मलेखु दोस्रो खण्डमा निर्माण भइरहेको छ । यस्तै मलेखु– मुग्लिन तेस्रो खण्डमा निर्माण कार्य भइरहेको छ । यी निर्माण कार्य पनि गिटी बालुवाको अभावमा ठप्प रहेको महानिर्देशक थापाले बताए ।

महानिर्देशक थापाले भने, केही दिनअघिसम्म यो सडक खण्डको विस्तार ठिकै रफ्तारमा काम भइरहेको भन्ने आम समाचार माध्यममा पढन पाउँदा खुशी लागेको थियो, तर त्यो खुशी पनि धेरै दिन टिक्न पाएन ।’

निर्माण व्यवसायीले किनेर आफ्नो क्याम्पमा राखेको बालुवा, ढुंगा र गिट्टी मात्र होइन, सडकमा निर्माणका लागि सडकको छेउमा थुपारेको तर निर्माण सकेर बचत हुन गएको निर्माण सामाग्री समेत २–३ सय मिटर परको अर्को साइट लैजान समेत बन्देज छ ।

महानिर्देशक थापा भन्छन– ‘गृहमन्त्रालयको अवैध क्रसर उद्योग बन्द गर्ने निर्णयले नेपालीबाट कामै नगरी जनताको करको पैसा विदेशी ठेकेदारहरुले भुक्तानी लिने भए, त्यो पनि दाबी, क्षतिपूर्ति र हर्जाना बापत । अब देशमा खनिजजन्य निर्माण सामाग्रीहरु चन्द्रमाबाट ल्याउने योजना गर्नुपर्ने हो कि ? देशभित्रको ढुंगा गिट्टी र बालुवा चलाउँदा पर्यावरण र वातावरण बिग्रन्छ । सबैलाई हानी नोक्सानी हुन्छ । दोहन गर्नु हुन्न ।’