काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले पार्टीको नेतृत्वले स्पष्ट बाटो तय गर्न नसकेको बताएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियत बनाएको कांग्रेस राजनीतिक रूपमा सही बाटो तय गर्न नसकेको भन्दै सो पक्षका नेताहरूले सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् ।
कोइराला पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘पचण्ड’ लाई विश्वासको मत दिनु गल्ती भएको बएका छन् । आइतबार काठमाडौंको बत्तीसपुतलीमा बसेको बैठकमा यस विषयमा छलफल भएको हो ।
कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेस दोधारमा रहेकोले आफूहरूले छलफल गरेको बताए । पार्टी कार्यकर्ता, मतदाता र नेताहरूमा नै काँग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न नसकेकोले छलफल गरएिको बैठक पस्चात नेता भण्डारीले जानकारी दिए ।
बैठकमा पार्टीका उपसभापति धनराज गुरुङले १५ औं महाधिवेशनमा आफ्नो समूहको सभापति घोषणा गरेर जानुपर्ने तर्क राखेका थिए । १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार शेखरलाई अहिले नै घोषणा गरेर जान उपयुक्त हुने तर्क उपसभापति गुरुङले राखेका थिए ।
बैठकमा नेता कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सो पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद तथा केही जिल्ला सभापतिहरूको समेत सहभागिता थियो । पार्टीको सक्रियता र राजनीतिक साख कमजोर भइरहेको भन्दै आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने नेताहरूले बैठकमा सुझाव दिएका छन् ।
यो पक्षको बैठक मंगलबार विहान पनि बस्ने भएको छ ।


प्रतिक्रिया