काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा भइरहेको अन्तिम सुनुवाइमा रिट निवेदकतर्फका कानुन व्यवसायीहरूको बहस सकिएको छ ।
रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता रमण कर्ण, निकिता ढुंगाना, अमृत खरेललगायतले एउटै बहस नोट पेश गर्दै लामिछानेले नेपाली नागरिकता आफुखुशी त्यागेर अमेरिकी नागरिकता त्यागेको तर अमेरिकी नागरिकता त्यागिसकेपछि नेपालको नागरिकता लिन प्रक्रिया सुरु नगरेको बताएका छन् ।
उनीहरुले नागरिकता ऐनको दफा १० र ११ उधृत गर्दै रवि लामिछानेले भनेझैं अमेरिकाको नागरिकता त्यागेपछि स्वतः नेपाली नागरिक नहुने बताए ।
बहसका क्रममा रिट निवेदक तर्फका कानुन व्यवसायीहरूले लामिछाने आजका मितिसम्म नेपाली नागरिक नभएको जिकिर गरेका छन् । कानुन व्यवसायी रमण कर्णले ऐनमा ‘नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहने छैन’भन्ने स्मरण गराए ।
रिट निवेदकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नागरिकताको समाप्ती राज्य वा व्यक्तिको निर्णयबाट हुने तर प्राप्तिका लागि राज्यको उपस्थिति अनिवार्य हुने बताए ।
अमेरिकी ग्रिनकार्ड लिने बेलामा अरु कुनै देशको नागरिक नरहेको र कुनै पनि राज्यप्रति निष्ठा नरहेको शपथ लिएका लामिछानेले अमेरिकी ग्रिनकार्ड त्यागेपछि नेपालमा नागरिकता पुनःप्राप्तिको प्रक्रिया नै नथालेको उनले बताए । वरिष्ठ अधिवक्ता भण्डारीले भने, ‘एउटा व्यक्तिमा जतिसुकै नेपालीपन होला, नेपाली रगत होला तर नागरिकता लिन सरकारी निकायमा पुग्नुपर्छ, त्यहाँ गएर दस्तखत गर्नुपर्छ, सही छाप गर्नुपर्छ, मागेको विवरण पेश गर्नुपर्छ ।’
त्यो प्रक्रिया पूरा नगरेकाले रवि लामिछाने अहिले नेपाली भएपनि नेपाली नागरिक नभएको उनको तर्क छ ।


प्रतिक्रिया