गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिमा शुभेच्छुकहरुले आफ्नो नाम लिएको बताएका छन् ।
शनिबार गोरखामा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘मलाई के लाग्छ भने शासकीय स्वरुप र निर्वाचन प्रणली नबदलिएसम्म अस्थिरताको खतरा हुन्छ, त्यसैले राष्ट्रिय सहमतिका लागि निरन्तर पैरवी गरेको छु’ उनले भने, ‘सायद त्यसैमा आधारित भएर होला कतिपय शुभेच्छुकले पनि एउटा पात्र हुन सक्छु भन्ने चर्चा चलाउनुभएको छ, म आफैंले त्यसबारे बोल्नु समय भन्दा अगाडि हुन्छ ।’
भट्टराईले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुने पात्र खोज्नुपर्ने बताएका छन् । अस्थिर राजनीतिक परिवेशमा देशको अभिभावकीय संस्थाको नेतृत्वमा राष्ट्रिय सहमति हुनु आवश्यक रहेको बताएका हुन् ।
‘सकेसम्म सरकार निर्माण लगायत सबै विषयमा यो ५ वर्ष राष्ट्रिय सहमति गरेर जाऔं । नभए कमसेकम देशको अभिभावकको रुपमा परिकल्पना गरिएको राष्ट्रपति चाहिँ सबैको सहमतिमा बनाऔ।भन्ने बहस चलिरहेको छ । त्यसमा कहाँ गएर कुन व्यक्तित्वमा सहमति बन्छ अहिले भन्न सकिँदैन’ उनले भने ।
अहिले पनि राष्ट्रिय राजनीतिमा अन्योल र अस्थिरताको संकेत मिलिरहेको भन्दै भट्टराईले त्यसलाई स्थिरतातर्फ ल्याउन राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए ।


प्रतिक्रिया