यूएसएआईडी प्रमुख सामन्था पावर नेपाल आउँदै

यूएसएआईडी प्रमुख सामन्था पावर नेपाल आउँदै


ग्लोब नेपाल
108
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर नेपाल आउने भएकी छन् । यूएसएआईडीले बुधबार विज्ञप्ति जारी गर्दै पावरले फेब्रुअरीको पहिलो साता नेपालको भ्रमण गर्ने उल्लेख गरेको छ ।

नेपालमा नयाँ सरकार बनेपछि कुनै पनि मुलुकबाट हुन लागेको यो नै उच्च तहको भ्रमण हो । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यो नै उच्चस्तरीय भ्रमण हो । उनी क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । साथै, उनी राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत हुन् ।

उनी कुन मितिमा आउने भन्ने सम्बन्धमा भने प्रस्ट पारिएको छैन । कूटनीतिक स्रोतका अनुसार सामन्थाको भ्रमण माघ २२ गतेदेखि २४ गतेसम्म हुने गरी गृहकार्य भइरहेको छ । काठमाडौंस्थित अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयले सोही मितिलाई आधार मानेर पावरको भ्रमणको गृहकार्य गरिरहेको बताइएकाे छ । अमेरिकी राजीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड फर्केलगत्तै अमेरिकाबाट अर्को उच्चस्तरीय भ्रमण हुन लागेको हो ।